
ऋषिङ्ग : ऋषिङ्ग गाउँपालिका वडा नं २ मा खानेपानी योजना सम्पन्न भएसँगै उद्घाटन गरिएको छ । योजनाको उद्घाटन गर्दै नेपाली कांग्रेस तनहुँका उपसभापती राजेन्द्रकृष्ण श्रेष्ठले नागरिकका आधारभुत आवश्यकता जनताको हक भएको र त्यो हकको अभिभावकत्व नेतृत्व तहले लिने जिम्मेवारिलाई पूरा गरेको भन्दै आयोजनाको दिर्घकालिन संरक्षणको लागि लाग्न सम्पुर्ण उपभोक्तालाई आग्रह गरे ।
उनले नागरिकका आधारभुत आवश्यकतालाई गाउँपालिकाले यथासम्भव सम्बोधन गर्न निरन्तर प्रयासरत रहेको र यहाँका जनताका आवश्यकता र लोकतान्त्रीक अधिकारप्राप्तिका लागि बिकासशिल सिपाहीको भुमिका निर्वाह गर्दै समुन्नत समाज निर्माणका लागि अनवरत लाग्ने प्रतिबद्धता जनाए ।
नेपाली कांग्रेस तनहुँबाट केही समय अगाडि लोकप्रीय मत सहित उपसभापतिमा निर्वाचित श्रेष्ठले नेपालका सबै परिबर्तनको नेतृत्व लिएको कांग्रेसले समाजका परिबर्तनमा आफुलाई समाहित गर्नुपर्ने र नेपाली कांग्रेसको “काम गरेर जनताको मन जित्ने“ जनअपेक्षित काममा समर्पित हुनको लागि निर्देशन समेत दिए ।

उनले यस क्षेत्रका सबै लोकतन्त्रबादी संस्था , समूह तथा नेतृत्व लिने सबैले समाजमा भएका परिबर्तनलाई दिगो ब्यवस्थापन गर्न ध्यान दिनपर्ने बताउँदै खानेपानी जस्तो अपरिहार्य आवश्यकता पूरा गर्न सकेकोमा काहुँवासीाई बधाई दिँदै आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
ऋषिङ्ग गाउँपालिकाको ५० लाख , गण्डकी प्रदेशको ४६ लाख तथा उपभोक्ताहरुको रु ७ लाख सहित कुल १ करोड ३ लाख मा सम्पन्न योजनाको समुदघाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्षहरु खेम बहादुर राना, भोजराज रानाभाट, श्री बहादुर आल,े नेपाली कांग्रेसका क्षेत्रीय सदस्य दान बहादुर श्रेष्ठ, ओमबहादुर थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
योजनाबाट काहुँ क्षेत्रका ९६ घरधुरी लाभान्वित भएका छन् । योजनाबाट आफुहरुलाई दैनिक जीवनयापनमा निकै सहयोग गरेको भन्दै स्थानीयले पन्चेबाजा सहित कार्यक्रम स्थल परिक्रमा गरि खुशियाली मनाएका थिए ।