
दमौलीः तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आईतबार बिहान भूपाल हार्डवयर्स र ज्योति जनरल सप्लायर्समा भएको आगलागीको मूल्यांकन गरी क्षतिपूर्ति दिलाउन सरकारलगायत सम्बद्ध निकायसँग अनुरोध गरेको छ ।
बिहान पौने १० बजेतिर भूपाल हार्डवयर्सको गोदामघरबाट शुरु आगो फैलँदै ज्योति जनरल सप्लायर्ससम्म पुगेको थियो । करिब चार घण्टाको अथक प्रयास पछि दमकल तथा हेलिकोप्टरको सहयोगमा मात्र आगो नियन्त्रणमा आएको थियो ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महासचिव सुबोध अधिकारी, दमौली बजार एकाई समितिका उपसभापति राजेश मल्ल तथा सचिव माधव न्यौपानेद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा आगो निभाउन सघाउने सबैप्रति कृतज्ञता प्रकट गरिएको छ ।

यसैगरी, व्यास नगर कार्यपालिका बैठकले समेत आगलागी नियन्त्रणमा सघाउने नगरवासी, सुरक्षाकर्मी, दमकल सञ्चालक, पोखरा महानगरपालिका, प्रदेश तथा नेपाल सरकारप्रति आभार प्रकट गरिएको छ । नगरपालिकाले आगलागीको मौसम ख्याल गर्दै प्रज्वलनशील पदार्थ आवास क्षेत्रबाट अलग राख्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।