आदर्श कपको उपाधि पोखराको मसिना क्लबलाई

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
दशौं आदर्श तथा पाँचौ तारा स्मृति कप म्याग्देको उपाधि मसिना युवा क्लब पोखराले जितेको छ ।

म्याग्देको मनहरि खेल मैदानमा शनिबार भएको फाइनल खेलमा समृद्धि युवा क्लब बोटेटार लाई २ – ० गोल अन्तरले हराउँदै मसिनाले उपाधि जितेको हो । जितसँगै मसिना युवा क्लबले १ लाख रूपैयाँ नगद , ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।

यस्तै उप विजेता हुने समृद्धि युवा क्लबले ५० हजार नगद , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गरिन् ।

पुरस्कार बितरण गर्दै अध्यक्ष रानाले आदर्श नमुना क्लबको खेलमैदानलाई अत्याधुनिक बनाउने आफ्नो इच्छा रहेको बताइन् । गाउँपालिकाले सबै वडामा खेलमैदानको अवधारणा ल्याएको रानाको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले स्वास्थ्यको लागि खेलकुद अपरिहार्य रहेको बताए ।

क्लबका अध्यक्ष गौरवराज रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य दीपक श्रेष्ठ , राजु राना, मनिल मल्ल, रूपेशराज रानालगायतका वक्ताहरूले बोलेका थिए ।

प्रतियोगितामा म्यानअफ द म्याच युनिक तामाङ, उत्कृष्ट खेलाडी सुनिल गोतामे, सर्वाधिक गोलकर्ता क्षितिजराज जिटि, उत्कृष्ट डिफेन्डर मनिस तामाङ, गोेलरक्षक प्रविन गुरूङ रहेका छन् ।
खेलको इन्द्र गुरूङ, सुजन मल्ल र विजयकुमार राना रेफ्रि रहेका थिए । खेलमा ३२ टिमले भाग लिएको अध्यक्ष गौरवराज रानाले बताए । खेलअघि क्लबका सदस्यहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी