
दमौली : तनहुँको व्यास नगरपालिका वडा नं १ स्थित कुक सहायक, सिलाई–कटाइ र पञ्चेबाजा तालिम सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायीक तालीम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश र व्यास नगरपालिकाको संयुक्त आयोजना तथा मगर समाज सुधार समिति दमौली तनहुँको व्यवस्थापनमा तालिम सुरु गरिएको हो ।

सिटिइभिटी गण्डकी र व्यास नगरपालिका विच भएको द्विपक्षीय समझदारी बमोजिम पहिलो चरणमाको तालिमा संगै पोखरा प्राविधिक शिक्षालयको सहयोगमा विशेष गरी युवाहरुलाई लक्षित गरी २८ दिन (१६० घण्टा) लेभल १ को कुक तालिम पनि सुरु गरिएको जानकारी गराईयो । जसमा व्यासका विभिन्न वडाका २० जना युवाहरुले सहभागीता जनाएका छन् । सहभागि युवाहरुलाई प्रदिप राईले प्रशिक्षण दिने पनि जनाईएको छ ।
प्रशिक्षणको २७ औँ दिनमा राष्ट्रिय सीप परीक्षण वोर्ड (एनएसटीबी)ले लिने सीप परीक्षण उत्तीर्ण भएका प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गर्ने सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले जानकारी दिए । उक्त तालिम दैनिक ६ घण्टाका दरले सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न विषयका तालिम सञ्चालनका लागि वैदेशिक रोजगार वोर्ड र पोखरा प्राविधिक शिक्षालय बीच भएको सम्झौता अनुसार निशुल्क लेभल १ कुक तालिम सञ्चालन गरिएको हो ।
त्यस्तै गरी महिलाहरुलाई लक्षित गरी सिलाई–कटाई तालिम पनि सुरु गरिएको छ । प्राविधिका शिक्षा तथा व्यावसायीक तालिम परिषद् र व्यास नगरपालिकाको सहयोगमा ६५ दिन े(३९०घण्टे) सिलाई–कटाइ तालिम सुरु गरिएको हो । उक्त तालिममा व्यासका विभिन्न वडाका २० जनाको सहभागिता रहेका छन् । सहभागि महिलाहरुलाई सन्तोषी थापा र विष्ण ुमाया थापाले प्रशिक्षण दिने पनि जनाईएको छ ।
त्यस्तै गरी पञ्चेबाजा तालिम पनि सुरु भएको छ । स्थानीय आवश्यकतामा आधारित उक्त तालिममा महिला र पुरुषदुबैको सहभागिता रहेको छ । एक महिने उक्त तालिममा रोशन वर्देवाले प्रशिक्षण दिने आयोजकले जनाए । तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सिटिइभिटी र नगरपालिका बीच भएको सम्झौता बमोजिम क्रमश अन्य तालिमहरु पनि सञ्चालन गरिने बताए ।
स्थानीय समुदायको आवश्कयतालाई ध्यानमा राखेर सीप हस्तान्तरणका कार्यक्रमहरु अघिबढाइने न्यौपानेले जानकारी दिए । साथै नेपाली समाजमा विगत देखि नै सांस्कृतिक कार्यक्रमहरुमा बाजाको छुट्टै महत्व रही आएकाले पनि बाजा बजाउने सीपले राम्रो आम्दानीको स्रोत सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे । बजारको आवश्यकतालाई सम्बोधन गर्ने खालका सीप सिकेर सोही अनुसार उद्यम गर्न समेत न्यौपानेले सहभागीलाई आग्रह गरे ।
कार्यक्रममा सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले तालिममा सिकेका सीपलाई पेशा व्यवसायको रुपमा निरन्तर तादिन सके मात्र तालिमको प्रभावकारीता बढ्ने बताए । छोटो अवधिको सीप मूलक तालिम मार्फत युवाहरूको पेशागत र ब्यवसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारी गराउन सिटिइभिटीले प्रदेशको सबै पालिकाहरुसँग सहकार्य गर्न चाहेको जानकारी गराउदै उनले भने ‘हामीले व्यासमा द्विपक्षीय समझदारी गरेपछि धेरै पालिकाहरुबाट त्यस्तो खालको प्रास्ताव आएको छ ।
युवाहरुलाई स्वरोजगार बनाउने सन्दर्भमा प्राविधिक तालिम दिने मात्र नभई सिटिइभिटीले युवा स्वरोजगार कोष मार्फत न्युनत्तम व्याजदारमा २ देखि १० लाख सम्मको ऋणको व्यवस्था समेत गर्न सकिने आचार्यले सोही अवसरमा जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रथम नगरप्रमुख तारा प्रसाद श्रेष्ठ, सिटिइभिटी गण्डकी प्रदेशका उप निर्देशक जीवन प्रसाद भण्डारी, तनहुँ प्राविधिक शिक्षालय प्रमुख प्रदीप राज खनाल, तनहुँ उद्योग वाणिज्य संघ महिला महिला उद्यमी विकास समितिकी अध्यक्ष शकुन्तला आले, व्यास–१ का वडा सदस्य चुडामणी दाहाल, समाज सुधार समितिका सल्लाहकार बल बहादुर आले लगायतले तालिम लिए पछि त्यसले जीविको पार्जनलाई सहयोग पुर्याउनु पर्नेमा जोड दिएका थिए ।
मगर समाज सुधार समिति दमौली तनहुँका अध्यक्ष पुर्ण बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इन्द्र बहादुर थापाले स्वागत गरेका थिए भने सचिव लिलबहादुर थापाले कार्यक्रम सहजी करण गरेका थिए ।