ओमिक्रोन भेरिएन्टः संक्रमण फैलन नदिन सघाउन कोभिड संकट व्यवस्थापन समितिको आग्रह

  • ख-
  • ख+

दमौलीः जिल्ला कोभिड संकट व्यवस्थापन समितिले तनहुँमा पनि कोभिडको ओमक्रिोन भेरिएन्ट फैलन सक्ने त्रास देखिएको भन्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मादण्डहरु पालनामा सघाउन जिल्लावासीबाट सहयोग अपेक्षा गरेको छ ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको संयोजकत्वमा मंगलबार बसेको बैठकले कोभिड १९ रोग नियन्त्रण तथा रोकथामको छलफल सहित पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यान्वयनमा ल्याउन सबै निकायलाई आग्रह गरिएको छ ।

गृह मन्त्रालयद्वारा आदेश भए अनुसार मंगलबारबाट विद्यालय बन्द गरिएको छ । प्रजिअ अर्यालले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

‘कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, सबैले सचेतता अपनाउदै सबै पक्षले कार्यान्वयनमा ल्याउन सके संक्रमणबाट जोगिन सक्छौं, त्यसैले सचेत बनौं,’ उनले भने ।

“हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमण समेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचाउनका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ, यसलाई सबै पक्षले कार्यान्वयनमा ल्याउनुपर्छ,’ प्रजिअ अर्यालले भने ।

बिदाको समयमा पनि लक्षित वर्गका बालबालिकालाई खोप लगाउने व्यवस्था गरिएकाले खोप कार्ड सहित स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा जान समेत उनले आग्रह गरे ।

बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन पनि आग्रह गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी