कोभिड संकटः आँबुखैरेनीको प्रवेशबिन्दुमा निगरानी बढाइने

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेश सरकारले कोभिडको ओमिक्रोन भेरिएन्टको फैलँदो अवस्था नियन्त्रण गर्न तनहुँको आँबुखैरेनीसहित प्रदेशका प्रस्थानबिन्दुमा निगरानी बढाउने भएको छ ।


मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संयोजक रहेको उच्चस्तरीय निर्देशक समितिको बैठकले प्रदेशको प्रस्थानबिन्दु तनहुँको आँबुखैरेनी, स्याङजाको राम्दी, नवलपरासी पूर्वको विनयत्रिवेणीलगायतका ठाउँमा निगरानी बढाउने निर्णय गरेको छ ।


बैठकले सार्वजनिक स्थलमा निःशुल्क एन्टिजेन परीक्षण गर्न प्रवन्ध गर्ने पनि निर्णय गरेको छ । परीक्षणमा पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेसनमा राख्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले समन्वय गर्ने निर्णय पनि समितिले गरेको छ ।


समितिले कोभिडको रोकथाम तथा उपचारलाई प्रभावकारी बनाउन औषधी तथा उपकरण छिटो छरितो किन्न सरकारी निकायलाई निर्देशन दिएको छ ।

यसैगरी, माघ ७ बाट सार्वजनिकस्थलमा प्रेश गर्दा खोप कार्ड अनिवार्य गर्ने तथा सार्वजनिक सवारीमा क्षमताअनुसारको यात्रु बोक्न र मास्क अनिवार्यको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।

मुख्यमन्त्री संयोजकत्वको बैठकले ओमिक्रोन लगायतका भेरिएण्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा नागरिकस्तरमा चेतनामूलक जानकारी उपलब्ध गराउन स्वास्थ्य आपतकालीन केन्द्र २४ सै घण्टा सातै दिन सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी