शुक्लागण्डकी एफएमको अध्यक्षमा ज्योतिकुमार श्रेष्ठ

  • ख-
  • ख+

दुलेगौंडाः तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको छैटौ वार्षिक साधारणसभा एवम् विशेष अधिवेशनले ज्योतिकुमार श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

दुलेगौंडामा सोमबार भएको साधारणसभा एवम् विशेष अधिवेशनले अन्य पादाधिकारी र सदस्यहरु भने यथावत रहेको रेडियोले जनाएको छ । रेडियोका अध्यक्ष पूर्णकुमार श्रेष्ठको गएको जेठमा निधनपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

समितिको उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई ऋतु, कोषाध्यक्षमा शिव पौडेल, सहसचिवमा सुरेन्द्र पौडेल रहेका छन् । सदस्यहरुमा बुद्धि बहादुर थापा, टिकाराम श्रेष्ठ, सुजित हिराचन, दिनेश घिमिरे, हरिलाल रिमाल, सुबासचन्द्र गिरी र राजेन्द्र पौडेल छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य आरजु विष्ट ‘सल्यानी’ले समय सापक्षसँगै रेडियोलाई अघि बढाउनुपर्नेमा जोड दिए । अहिले समय फेरिएको छ, अरु माध्यमहरु आएका छन्, उनले भने, स्रोताले चाहेको कुरालाई रेडियो प्रसारण गरेमात्र रेडियोको प्रभावकारीता बढ्छ, ।’ उनले नेपाली परिवेशमा रेडियोको महत्व भने सधै रहिरहने उल्लेख गरे ।

रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले रेडियो स्थापनाको ५ वर्ष सफलतापूर्व अगाडी बढेको बताउदै आगामी दिनमा अझ प्रवाकारी ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिए । रेडियोका सल्लाहकार कमलमोहन घिमिरेले स्रोताको मन जित्ने खालका कार्यक्रम ल्याएर रेडियोप्रतिको आकर्षण बढाउन सुझाव दिए ।

सोहि अवसरमा संस्थापक अध्यक्ष श्रेष्ठले पेश गरेको पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम अक्षय कोषको नियमावली पारित गरिएको थियो । स्व.श्रेष्ठको सञ्चार, साहित्य र सामाजिक योगदानको कदर गर्दै रेडियोका शेयर धनी सदस्य र शुभचिन्तकबाट स्वस्फूर्त रुपमा स्थापित ३ लाख रुपैयाको अक्षयकोषबाट प्राप्त ब्याजबाट पत्रकारिता, साहित्य र सामाजिक सेवामा क्रियाशिल व्यक्तिलाई प्रत्येक वर्ष सम्मान गरिने उनले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी कार्यक्रम प्रमुख शावित्रा कोइराला, उत्कृष्ट स्रोता भिमाद–५, पाटनकी सजिना गुरुङलाई सम्मान गरियो । साथै उत्कृष्ट विज्ञापनदाताको रुपमा एमएचपी शैलुन दुलेगौंडाका सञ्चालक अब्दुल कयुम, शेयरधनी सदस्यबाट सुलभ मोबाईलका सञ्चालक राजेन्द्र पौडेल र दिर्घायु फर्निचरका सञ्चालक लक्ष्मीराज वाग्लेलाई सम्मान गरिएको थियो । रेडियोले प्रत्येक वर्ष उत्कृष्ट कर्मचारी, स्रोता र विज्ञापनदातालाई सम्मान गर्दै आएको छ ।

रेडियोका कार्यबाहक अध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कमलमोहन घिमिरे, उपाध्यक्ष सरस्वती सिग्देल, सचिव ऋषेश्वर भुवाई ऋतु, प्रसारण उपसमिति संयोजक टिकाराम श्रेष्ठ, सञ्चालक समित सदस्य बुद्धि बहादुर थापा, स्टेसन मेनेजर राजन उपाध्याय, उत्कृष्ट विज्ञापनदाता एमएचपी शैलुन दुलेगौंडाका सञ्चालक अब्दुल कयुम, उत्कृष्ट स्रोता भिमाद–५, पाटनकी सजिना गुरुङ लगायतले बोलेका थिए ।

६ वर्षअघि स्थापित रेडियोमा गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ७ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिने रेडियोले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी