कांग्रेस महाधिवेशनः प्रतिष्पर्धामा नरहने वरिष्ठ नेता पौडेलको घोषणा, भन्छन्, ‘कार्यकर्ताले विवेक प्रयोग गर्नु’

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू प्रतिष्पर्धामा नरहने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले आफू प्रतिष्पर्धामा नरहे पनि राजनीतिमा भने सक्रिय नै रहने बताएका छन् ।

मनोनयनका क्रममा संस्थापनइतरबाट सर्वसम्मत सभापति उम्मेदवार हुने प्रयासमा विभिन्न चरणमा छलफल गरे पनि एउटै समूहका अरु आकांक्षीको साथ नपाए पछि पौडेलले उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

‘किसुनजी र गणेशमानको नियति भोगें’
पार्टीका संस्थापक किसुनजी र गणेशमानले आदर्श र मूल्यका लागि जीवनभर लडे पनि त्यो निरर्थक भएको भन्दै पीडाबोध भएको पौडेलले विज्ञप्तिमा लेखेका छन् ।


चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उनले भनेका छन्, ‘प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिष्पर्धाको मैदान छाड्ने अवस्थामा पुगेँ ।’


तर पनि इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र देशमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडि नै रहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘म नरहे पनि विवेक प्रयोग गर्नु’

वरिष्ठ नेता पौडेलले विज्ञप्तिमा आफू प्रतिष्पर्धामा नरहे पनि विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिष्पर्धाको आदर्श र मूल्य जोगाउने सुभेच्छा प्रकट गरेका छन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्