विद्युतिय कर भुक्तानी सेवामा म्याग्दे तनहुँमै पहिलो

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे: म्याग्दे गाउँपालिका विद्युतिय कर भुक्तानी सेवा सुविधा दिनेमा तनहुँमै पहिलो भएको छ । मंसिर २० गते अाइतवार गाउँपालिकामा अायाेजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष मायादेवी रानाले कर भुक्तानी सेवा सुभारम्भ गरिन् ।

सेवा सुभारम्भ गर्दै अध्यक्ष रानाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेकाे बताइन् । गाउँपालिकाले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए।

थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत कर तिर्न सकिने व्यवस्था गरिएको अधिकारीले बताए।

‘गाउँपालिकाले दिने सेवा प्रविधिमैत्री बनाउने उद्धेश्य सहित कर भुक्तानी विद्युतिय माध्यमबाट तिर्न सकिने ब्यबस्था गरेका हाैं’, उनलेे भने । कामको सिलसिलामा जिल्ला बाहिर भएपनि अब याे सुविधा लिन पाइने अधिकारीले बताए ।

त्यतिमात्रै हाेईन करदाताले पहिला तिरेको करकाे सहि मुल्यांकन भएको छ कि छैन अाँफैले हेर्न मिल्ने र कर्मचारीको मात्रै भर पर्न नपर्ने अधिकारीकाे भनाइ छ । याे सेवा तनहुँका अन्य स्थानीय तहमा लागू भएका छैनन् , म्याग्दे पहिलो हाे भन्दै अधिकारीले गण्डकी प्रदेशमा समेत हामी तेस्रो भएका छाैँ ।

गण्डकी प्रदेशमा यश अगाडि स्याङ्जाको वालिङ र पर्वतको जलजला गाउँपालिकाले याे सेवा सुरु गरेका छन् । गाउँपालिका भित्रका ‘सबै वडा बराबर दूरीमा छैनन् , सबै ठाउँका सडक पनि सजिला छैनन् । थोरै कर तिर्नका लागि धेरै खर्च गरेर कार्यालयमा आउनुपर्ने बाध्यता र पुरै दिन नै खर्च भइरहेको अवस्था छ,’ प्रमुख प्रशासकिय अधिकृत अधिकारी भन्छन्, ‘एप्सबाट तिर्ने भएपछि घरमै बसेर मोबाइल डेटाबाट नै कर तिर्न सकिने व्यवस्था भएको छ।’

मोबाइल सेटमा आइएमई पेको एप्स डाउनलोड गरेपछि त्यसभित्र म्याग्दे गाउँपालिकाको ‘सब टाइटल’मा गएर आफूले तिर्नुपर्ने रकम सिधै गाउँपालिकाको खातामा जम्मा गर्न सकिने गाउँपालिकाका अाइटि ईन्जिनियर जीवन थापाले जानकारी दिए।
सम्पत्ति तथा भूमि कर व्यवस्थापन गर्ने भनेर गाउँपालिकाले लगानी गरेर सफ्टवेयर बनाएको थापाले बताए।

एप्सको पहुँचमा जान नसक्ने तथा यस सम्बन्धी ज्ञान नभएकाहरूले भने पुरानै शैलीमा गाउँपालिकाको कार्यालय वा तोकिएको वडाको केन्द्रमा पुगेर कर तिर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी