
दमौलीः नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबारबाट नारायणी नदी किनार नारायणगढमा शुरु भएको छ । नयाँ नेतृत्व चयन गर्ने भनिए पनि करिब सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताएको पार्टीमा अध्यक्षबाहेकमा भने चुनाव हुने करिब निश्चित देखिएको छ ।
शनिबार निर्वाचन तालिका शुरु हुने महाधिवेशनमा तनहुँका नेता एवं स्थायी कमिटी सदस्य किरण गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यसैगरी केन्द्रीय सदस्यमा दावेदारी दिनेको संख्या पनि चार छ । पूर्व सांसद एवं वैकल्पिक केन्द्रीय सदस्य रहिसकेका नेता टुकराज सिग्देल र एकबहादुर राना राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने तथा प्रदेश सभा सदस्य रामबहादुर गुरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरिसकेका छन् ।
सबै पार्टी अध्यक्ष केपी शर्मा ओली निकट भए पनि यसपाली ओली गुटमै दुई गुटको ध्रुवीकरण देखिने भएकाले नेताहरु को कता लाग्छन्, यकिन छैन ।
यदि सबै निर्वाचित भएमा तनहुँको इतिहासमै एमाले केन्द्रमा धेरै प्रतिनिधित्व गर्ने रेकर्ड कायम हुनेछ । अहिले सबै नेताहरु आफ्नो उम्मेदवारी र जित सुनिश्चित गर्न दौडधुपमा छन् ।