काङ्ग्रेस प्रदेश चुनाव: दुई प्यानल बिच कडा प्रतिस्पर्धा

  • ख-
  • ख+

बिकास खनाल
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत मंसिर ३ गते हुने प्रदेश निर्वाचनले तनहुँमा चुनावी सरमगरम ह्वात्तै बढेको छ ।अहिले दमौलीका चिया पसल देखि चोक चोकमा काङ्ग्रेसका उमेदवारहरू भोट माग्न ब्यस्त छन् । नयाँ तथा पुरानो अनुहारका धेरै उमेदवार बन्दै गर्दा क्षेत्रीय प्रतिनिधिहरूलाई कसलाई भोट हाल्ने भन्ने छुट्याउन गार्हो पर्ने स्थिति छ । त्यसैमा पनि केन्द्रीय नेताहरू आ–आफ्नो गुट बनाएर कार्यकर्तालाई दुई चिरामा बिभाजित गरेर प्यानलै खडा गरिदिए पछि त झन कता लाग्ने भनेर दुबिधामा छन् भोटरहरू । दुबै पक्ष अहिले दलबल सहित मतदाताको घर दैलोमा छन् ।


तनहुँ आँफैमा पनि काङ्ग्रेसका हेविवेट नेता भएको ठाउँ हो, पहिले रामचन्द्र पौडेल र गोविन्द राज जोशी बिच मात्रै कडा टक्कर पर्ने तनहुँमा अहिले विभिन्न गुट उपगुट छन् । खासगरी केन्द्रीय सदस्य द्वय शंकर भण्डारी र प्रदीप पौडेलको समुह बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । भण्डारी सहित केन्द्रिय सदस्य गोबिन्द भट्टराई र आमन्त्रित केन्द्रिय सदस्य ध्रुव वाग्लेको समुह आफ्नो प्यानललाई जिताउन दौडधुप गरिरहेका छन् । भण्डारीको समुहमा कार्यबाहक सभापति जीतप्रकाश आले , जिल्ला सचिव बिश्व बाँस्तोला ,युवा नेता आनन्द त्रिपाठी, राजेन्द्र कृष्ण श्रेष्ठ,चुडामणि खनाल, मायादेवी राना लगायतको साथ छ ।

त्यसैगरी प्रदीप पौडेल र जिल्ला सभापति बैकुण्ठ न्यौपाने समुहबाट गण्डकी प्रदेशका बिना बिभागीय मन्त्री डोवाटे बिश्वकर्मा,गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ ,भानु नगरपालिकाका मेयर उदयराज गौली, पुर्व सभापति रघुनाथ पौडेल, महासमिति सदस्य डा.कृष्ण प्रसाद गौतम, जिल्ला सचिव लक्ष्मी आचार्य, संगठन बिभाग प्रमुख बालकृष्ण घिमिरे, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ,पूर्व मेयर ताराप्रसाद श्रेष्ठ, जिल्ला नेताहरु अशोक श्रेष्ठ, व्यास नगरसभापति सूर्यचन्द्र हड्खले लगायतका नेताहरुको साथ छ ।

अहिले सरसर्ति हेर्दा भण्डारी समुहले पौडेल समुहका नेताहरू आफ्नो टिममा तान्दै गएको देखिन्छ । यस्तै पौडेलको समुहमा जिल्ला नेताहरु बढि देखिन्छन् र यो टिमलाई रामचन्द्र पौडेलको साथ छ । काँग्रेसको आन्तरिक प्रतिस्पर्धा भएको र धेरै जना पदिय जिम्मेवारी लिन इच्छुक भएकोले लोकतान्त्रिक विधि अपनाइ दुई प्यानलमा छुट्टिएर चुनावी मैदानमा उत्रिनु परेको कार्यकर्ताको भनाइ छ । काँग्रेसको पार्टी भित्रको प्रतिस्पर्धामा लोकतान्त्रिक पद्दतिमा जो आएपनि सहर्ष स्वीकार गरी काँग्रेस सुदृढीकरणमा लाग्नुपर्ने कार्यकर्ताको जोड छ ।

पहिलो चरणमा प्रदेशको चुनाव भोलि ३ गते हुने भएकोले आज उमेदवारी दर्ताको काम सकिएको छ । अधिबेशनमा दुबै समुह बीच कडा प्रतिस्पर्धा हुने भएकोले उम्मेद्वारहरु आफ्नो पक्षमा मत माग्न लागिपरेका छन् । अझै रोचक त के छ भने अधिकांश उम्मेद्वारहरू प्यानलमा परेपनि जसरी हुन्छ आफ्नो जित अभियानमा भित्र भित्र साँठगाँठ गरिरहेका छन र यसले के देखाउँछ भने जसले जितेपनि प्यानलै जित्दैन र उम्मेदवार हेरि भोट क्रस हुन्छ । काङ्ग्रेसले ०७४ सालमा तनहुँबाट क्लिन स्विप भएको भुलेर जिल्लामा आँफु मात्रै छु जसरी भद्दा चुनाब लड्दैछ । तनहुँका ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये एउटा निर्वाचन क्षेत्रमा इन्द्रबहादुर आले नेतृत्वको टिम सर्वसम्मत भैसकेको छ, भने अन्य तीन वटामा आ–आफ्नो टिम बनाएर चुनाबमा होमिदै छन् ।

तनहुँ क्षेत्र नं १ प्रदेश शभा ‘क’ मा बिशेस्वर खनाल र गोरा मियाको प्यानल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मियाँ पत्रकारिता क्षेत्रका हुन् भने खनाल शिक्षक हुन् । खनालको टिमले पौडेल, न्यौपानेको र मियाँले भण्डारी,वाग्लेको आशिर्वाद पाएका छन् । यस्तै क्षेत्र नं १ ‘ख’ मा राजेन्द्र पिया र काजिमान श्रेष्ठको प्यानल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पिया लाई भण्डारी, वाग्ले र श्रेष्ठलाई पौडेल,न्यौपानेको आशिर्वाद छ । यता क्षेत्र नँ २ क मा हिरा थापा र जितराज रानाको प्यानल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

थापा र राना दुबै मगर समुदाय र दुबै पुर्व शिक्षक भएको हुँदा चुनाव थप रोचक हुने ठानिएको छ । थापालाई पौडेल,न्यौपाने र रानालाइ भण्डारी, वाग्लेको आशिर्वाद छ । जिल्ला भित्रको पार्टीको चुनावमा आवस्यकता भन्दा बढी प्रतिस्पर्धा भएको र यसले बिपक्षी सँग छिट्टै हुने चुनाब लड्दा असर पर्छ भन्नेमा एकथरी कार्यकर्ता चिन्तित छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्