दमौलीः ठूलो एकादशी पनि भनिने हरिबोधनी एकादशी पर्वका क्रममा तनहुँका विभिन्न तीर्थस्थलमा फूलको डोली तार्ने तयारी थालिएको छ ।
यस अवसरमा व्यास ३ दमौलीस्थित सेतीमादी, व्यास १० को अनन्त कर्म गुफा रामरामेश्वरी मन्दिर, व्यास ९ को राजापानी महादेव तथा विभिन्न स्थानमा फूलको डोली तार्ने प्रचलन छ । देवघाटधामस्थित कालीगण्डकी नदीमा स्नान गर्नेको पनि घुइंचो देखिएको छ ।
यसका लागि बिहानैदेखि फूलको डोला, बाजागाजाका साथ यात्रा थालिएको छ । पहाड क्षेत्रमा विशेष रुपमा मनाइने हिन्दुको यस चाडमा व्यास नगरपालिका तथा शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएका छन् ।
यस चाडमा तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।