दमौलीमा १० करोडमा भेटेरिनरी अस्पताल निर्माण शुरु, मुख्यमन्त्री पोखरेलद्वारा शिलान्यास

  • ख-
  • ख+

दमौलीः दमौलीमा १० करोड रुपैयाँ लागतमा मोडल भेटेरिनरी अस्पताल निर्माण हुने भएको छ । भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको आर्थिक लागतमा हाल पशु विज्ञ केन्द्र भएकै क्षेत्रमा निर्माण हुन लागेको अस्पतालको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्यास गरे ।

प्रदेश सरकारका प्रभावशाली मन्त्रीहरु मेखलाल श्रेष्ठ, डोवाटे विक तथा बिन्दु थापाको उपस्थितीमा अस्पताल शिलान्यास गर्दै उनले भावी दिनमा पशु उपचारका क्षेत्रमा अस्पतालले नमूनाका रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

दुई प्रयोगशाला र २३ कोठा रहेको अस्पताल भवनमा यसका अलावा कार्यालय, बैठक कक्ष समेत रहनेछन् । अस्पतालले पशुहरुका लागि अत्यावश्यकीय अपरेशन, थेरापी तथा आईसीयु र युएसजीसमेतका सेवा उपलब्ध गराउने र यो तनहुँ तथा आसपासमै नमूना हुने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

नयाँ बन्ने तीन तल्ले भवनमा तालिम कक्ष तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त आवास समेत रहने बताइएको छ ।

लागत झण्डै १० करोड रहे पनि हालका लागि भने चार करोड ९० लाख रुपैयाँमा क्रमिक रुपमा काम अघि बढाउने गरी इको बिल्डर्स प्रालि चितवनसँग सम्झौता गरिएको छ ।

हाल सामान्य खालको मात्र पशु चिकित्सा सेवा उपलब्ध भैरहेकामा अब अस्पतालको स्थापनासँगै तनहुँ र लमजुङसमेतका जिल्लाका व्यवसायिक पशुपालक किसानलाई फाइदा पुग्ने ठानिएको छ । प्रदेश सरकारले अस्पतालका लागि निरन्तर बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्