
दमौली: कांग्रेस जिल्ला अधिवेशन नजिकिंदै गर्दा नेविसंघ पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेसँगै त्यसले पार्टी जिल्ला राजानीतिमा नयाँ तरंग पैदा गरेको छ ।
लामो समय विद्यार्थी राजनीति गरेका खनाल पछिल्लो समय युवा नेताका रुपमा सक्रिय छन्। जेसीआई व्यास नगरका अध्यक्षका रुपमा समेत सामाजिक रुपमा सक्रिय खनालले युवा मात्र नभै सबै पक्ष समेट्ने गरी सक्षम नेतृत्वको वकालत गर्दै उम्मेदवारी घोषणा गरेको बताए ।
खासगरी पछिल्लो समय कांग्रेसमा युवा पुस्ताले समेत जिम्मेवारी पाउनुपर्ने आवाज उठेको छ । यस्तोमा पार्टीको सञ्चालनमा महत्वपूर्ण भूमिका रहने पदमा उनको उम्मेदवारीलाई युवा पुस्ताले आफ्नो प्रतिनिधिका रुपमा समेत हेरेको छ ।
कांग्रेस जिल्ला सदस्य सुरेश भट्टराई जिल्ला नेतृत्वमा युवा आउनुपर्ने आवाज उठिरहँदा खनालको उम्मेदवारी आउनुले सकारात्मक भूमिका खेलेको बताउँछन् ।
को हुन् खनाल ?
लक्ष्मीभक्त नेविसंघ तनहुँको अध्यक्ष
हुँदै सहमहामन्त्री र कांग्रेस जिल्ला सदस्य छन् ।
२०५६ सालमा विद्यार्थी राजनीति थालेका उनी २०५८ मा जिल्ला सदस्य तथा २०६० सालमा जिल्ला नेविसंघ सचिव सम्म भए ।
उनी ०६२/०६३ काे जन आन्दोलनमा १८ दिन प्रहरी नजरबन्दमा समेत परे । उनी २०६३ सालमा पहिलो पटक नेविसंघ जिल्ला अध्यक्ष बनेका थिए ।
पार्टी विभाजनका क्रममा दुई बनेको नेविसंघलाई उनैले एक बनाएर जिम्मेवारी हस्तान्तरण गरेका थिए।

खनाललाई युवा पुस्ताका अलावा पुरानो पुस्तासँग समेत समन्वयकारी भूमिका खेल्न सक्ने क्षमता भएको नेताका रुपमा लिइन्छ ।
हालसम्म पुरानो पुस्ताको पकड़ रहेको पदमा उनको उम्मेदवारीले खनाललाई चुनाव जित्न भने राम्रै पापड बेल्नुपर्ने देखिन्छ ।