
दमौलीः दशैंअघि नै विकसित घटनाक्रमको उपजस्वरुप यस अघि कांग्रेसनिकट ठानिएका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल वाम दल नेकपा एमालेमा प्रवेश गर्ने करिब निश्चित भएको समाचार श्रोतहरुले दावी गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङलाई उद्धृत गर्दै समाधान अनलाईनले यससम्बन्धी एक खबर पनि प्रकाशन गरेको छ ।
यस अघि हाल मन्त्री बनेका नेकपा एस्का नेता कृष्णकुमार श्रेष्ठ किसानसँग निकट ठानिएका खनाललाई उनैलाई टक्कर दिने गरी उतार्न एमाले नेतृत्वले तयारी गरेका सूचनाहरु यस अघि नै सार्वजनिक भएका थिए ।
सोही योजनामा दशैंअघि नै अर्का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको सक्रियतामा खनालले पार्टी अध्यक्ष केपी ओलीसँग भेटेका थिए ।
किसान नेकपा एस्मा प्रवेश गरे पछि उनी नै तनहुँ क्षेत्र नम्बर १ बाट सम्भावित गठबन्धन उम्मेदवार बन्न सक्ने निष्कर्ष निकाल्दै उनैलाई काउण्टर दिने गरी एमाले नेतृ भगवती न्यौपानेलगायत स्थानीय नेता कार्यकर्ताको विशेष रुचिमा खनाललाई तिहार अघि नै एक कार्यक्रम गरी एमाले भित्र्याउने तयारी गरिएको बताइन्छ ।
एक श्रोतले दमौली न्यूजलाई बताएअनुसार अब चाँडै नै पार्टीको एक सार्वजनिक फोरममा उनलाई पार्टी प्रवेश गराइनेछ । त्यस कार्यक्रममा पार्टी अध्यक्ष ओलीसमेत आउने दावी हाल नाम खुलाउन नचाहेका एमालेका युवा नेताले गरे ।