
दमौलीः कुनै उथलपुथल नभएमा बिहीबार सरकार विस्तार गर्ने तयारी गरिएको छ । सत्तारुढ घटकका अन्य सहयात्री समेतको साथ लिएर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी गरेको उनीनिकट श्रोतले बताएको छ ।
माओवादी केन्द्रले नाम टुंगो लगाएसँगै कांग्रेस, जनता समाजवादी र नेकपा एस्ले पनि मन्त्रीको नाम टुंगो लगाउने अन्तिम कसरत गरिरहेका छन् ।
नेकपा एस्बाट मन्त्री बन्नेको सूचीमा तनहुँका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठको नाम यसपाली पनि चर्चामा छ ।
बिहीबार दिएको एक अन्र्तवार्तामा नेकपा एस्का एक प्रभावशाली नेता मेटमणि चौधरीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको सूचीमा आफूसँगै रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको मन्त्री बन्ने सम्भावना औंल्याए ।
उनले नाम करिब निश्चित भएको भन्दै तनहुँका प्रतिनिधि सभा सदस्य श्रेष्ठको समेत नाम लिएका थिए ।
चार मन्त्री, एक राज्यमा अटाउलान् ?
प्रधानमन्त्री र गठबन्धनमा भएको सहमति अनुसार नेकपा एस्ले चार जना फूल र एक राज्यमन्त्री पाउनेछ । तर, यसो भएमा एक नामको व्यवस्थापन गर्न पार्टीलाई कठिन हुनेछ । चौधरीले नखुलाए पनि श्रेष्ठको नाम अन्तिममा लिएका थिए ।
यसलाई राज्यमन्त्रीका रुपमा पनि अथ्र्याइएको छ । तर, नेकपा एस्का एक नेताले श्रेष्ठ फूल मन्त्री नै बन्ने दाबी गरे । ‘उहाँ (किसान श्रेष्ठ) फूल मन्त्री नै बन्ने हो,’ उनले भने,‘यो पटक नभए अर्को पटक भए पनि ।’
नेकपा एस्ले चुनाव नआउँदासम्म मन्त्रीको नाम बदलेर नेतालाई सन्तुष्ट पार्ने नीति लिएको छ । त्यसो हुँदा अर्को पटक चुनाव नजिक पनि मन्त्रीको सम्भावना रहने ती नेताको तर्क छ ।
पाँच फूल मन्त्री पाए ‘कन्फर्म’
नेकपा एस्का ती नेताले अध्यक्ष माधवकुमार नेपाल पाँच मन्त्रीका पक्षमा रहेको भन्दै राज्यमन्त्रीसहित ६ जनाले मन्त्री पाउने अवस्थामा भने नाम टुंग्याउन समस्या नरहेको दाबी गरे ।
नेता नेपालले असन्तुष्टि जनाएकाले ६ मन्त्री नपाएका खण्डमा सरकारमै नजानेसम्मको धम्की दिएकाले सरकारमा नजाने सम्भावना पनि रहेको ती नेताले बताए ।
त्यसो भएमा भने कसैले पनि मन्त्री बन्न नपाउने अवस्था आउन सक्छ । नेताको व्यवस्थापन नै जटिल बनेकाले यस्तो सम्भावना पनि रहने बताइन्छ ।