एनआरएनए निर्वाचन: ‘टिम बद्री’का उपाध्यक्ष र कोषाध्यक्ष उम्मेदवार श्रेष्ठ र दाहाल ‘टिम कुल’को पक्षमा

  • ख-
  • ख+

काठमाडौं : गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष प्रत्यासी बद्री केसीका महत्वपूर्ण दुई सहयोगीले अध्यक्ष प्रत्यासी कुल आचार्यको समूहलाई सघाउने घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेकामा
केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ(जापान) र लोक दाहाल(बेल्जियम) छन् । उनीहरु दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् ।

केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफूँ पक्षीय उम्मेदवारहरुको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्वीर समावेश गरेका थिए । केसीको साथ छाडेर आचार्यको टिममा समावेश भएका श्रेष्ठ र दाहालले अब आचार्य नेतृत्वको टिमबाट उम्मेदवारी दिने छन् । श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने छन् ।

एनआरएनएको दशौं महाधिवेशन यही अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।
संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्रि केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्ने छन् ।
उम्मेदवारी घोषणा गर्नु भन्दा ठीक एक दिनअघि उपाध्यक्ष केसीलाई दुई महत्वपूर्ण पदाधिकारीले छाडेका छन् । श्रेष्ठ र दाहालले केसीको साथ छाडेसँगै आचार्यको पल्लाभारी देखिएको छ ।
आइतबार साँझ आयोजित डबली संवाद(भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए । नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् ।

कुलजीसँगै जाने निर्णयमा पुगेको छु : दाहाल

कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु, दाहालले भने । बेल्जियमबाट अहिले काठमाडौं आइपुगेका छन् ।
त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका महेश श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै टिमबाट निर्वाचनमा सहभागी हुने बताएका छन् ।
हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेदवार केसीले आफ्नो नाम पनि उम्मेदवारहरुको सूचीमा राखेको प्रति असहमति जनाए । म बद्रि केसीको टिममा छैन, मेरो समर्थन कुल आचार्यलाई छ, श्रेष्ठले भनेका छन् ।

आचार्यको टिमबाट महासचिवमा डा. केशव पौडेल(अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ्ग(बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

विचार मिल्नेहरुको सहकार्य ः आचार्य
यसैबीच, अध्यक्षका उम्मेदवार कुल आचार्यले आफूँले कुनै प्यानल नबनाएको स्पष्ट पारेका छन् ।
संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफूँ सचेत रहेको बताउँदै विचार र एजेण्डा मिल्नेहरुको सहकार्य मात्रै भएको बताए ।
भावना र एजेण्डा मिल्नेहरुका बीचमा सहकार्य गरेका छौं, आचार्यले भने, कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ ।

गैर आवासीय नेपाली संघको साख र मर्यादालाई उच्च बनाउन चाहनेहरु एकजुट हुनुपर्ने अवस्था आएको आचार्यले बताए । आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए ।

सदस्यता तथा डेलिगेट्स चयनमा विवाद देखिएको बाहनामा निर्वाचन नै पर सार्ने खेल हुन थालेको छ, आचार्यले भने, समयमै विवाद सुल्झाएर तोकिएकै मितिमा चुनाव हुनुपर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्