आफ्ना प्राथमिकता छुट्याउन युवालाई व्यास नगर युवा परिषदको अभिमुखीकरण (तस्बिरहरु)

  • ख-
  • ख+

विकल श्रेष्ठ

दमौलीः व्यास नगरपालिकाको युवा परिषदले सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण गरेको छ । युवा सशक्तिकरणका विविध पाटोमा अभिमुखीकरण गरिएको कार्यक्रममा व्यास नगरपालिकाको विविधि क्षेत्रबाट प्रतिनिधित्व गर्ने परिषद सदस्य झण्डै ४० सहभागी थिए ।

कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले परिषदले युवा सशक्तिकरणका क्षेत्रमा प्रभावकारी कार्य गर्ने विश्वास गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवा विज्ञ तथा अभियन्ताहरुले सहभागीलाई अभिमुखीकरण गरेका थिए ।

राष्ट्यि क्रिकेट क्याप्टेन ज्ञानेन्द्र मल्ल, युवा अभियन्ता अपार पौडेल, शौरभ ढकाल, युथ
कंग्रेसका संयोजक सचिन तिमल्सेना, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, व्यास नगर प्रवक्ता मोहनकुमार श्रेष्ठ, परिषद उपाध्यक्ष गौरव पन्थलगायतले युवालाई अभिमुखीकरण गरेका थिए ।

समापनका दिन आईतबार व्यास नगर क्षेत्रमा युवाको सम्भावनाबारे प्यानल छलफल गरिएको थियो । छलफलमा बोल्दै शिक्षाविद् बीना कैनीले शिक्षा क्षेत्रमा प्रशस्त रोजगारी र कमाउने समेत अवसर भएको बताइन् ।

नेपाल विद्यार्थी संघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले राजनीतिबाट टाढा रहेर मात्र युवाले चाहेजस्तो परिवर्तन नआउने भन्दै युवालाई सक्रिय राजनीतिमा लाग्न सुझाव दिइन् ।
युथ कंग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठले राजनीतिमा राम्रो सम्भावना बोकेका युवाको सहभागीताबाट मात्र सुधार आउने भन्दै राजनीतिमा लाग्न प्रेरित गरे ।

छलफलको सहजीकरण गरेका श्रृजनशील युवा मञ्चका अध्यक्ष पवन पौडेलले युवाले आफ्नो सम्भावना र क्षमताबारे आफैंले पहिचान गर्न सक्ने भन्दै भित्रैदेखि अभिरुचि भएको क्षेत्रमा लागे अधिक सफलता हासिल हुने बताए ।

वक्ताहरुले व्यास नगर क्षेत्रमा शिक्षा, राजनीति तथा व्यवसाय क्षेत्रमा सम्भावना भएको भन्दै आफ्नो रुचि पहिचान गरेर रोजाइका क्षेत्रमा लाग्न युवालाई सुझाव दिए ।
कार्यक्रमपश्चात युवाहरुले वर्षभर आफ्ना क्षेत्रमा योजना निर्माण गर्ने र त्यसमा नगरपालिकाले सघाउने नगरपालिकाको युवा शाखा प्रमुख बिमल गिरीले बताए ।
सार्वजनिक रुपमा गरिएको आह्वान तथा विशेष प्रतिभा प्रदर्शन गरेका युवाको सहभागितामा व्यास नगरपालिकाले दुई वर्षयता एक वर्षे कार्यकालको युवा परिषद गठन गरेर आफ्ना प्राथमिकता निर्धारणमा सघाउँछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी