
दमौलीः तनहुँ प्रशासनले चाडबाडका बेला क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । जिल्ला यातायात व्यवस्थापन समतिको बैठक डाकेर प्रशासनले क्षमताभन्दा बढी यात्रु चढाइंदा दुर्घटना हुने गरेको भन्दै यातायात व्यवसायीलाई सचेत गराएको हो ।
प्रशासनले सचेत गराए पछि बैठकले यस्ता कार्य रोक्ने निर्णय गरेको छ । यसैगरी, चाडबाडमा भिडभाड कम गर्नका लागि यातायातका साधनहरु स्थानीय रुटमा थप्ने पनि निर्णय गरेको छ । यातायातका साधन कम चल्दा नै क्षमताभन्दा बढी यात्रु बोकिने अवस्था आएको निष्कर्षपछि प्रशासनले यस्तो निर्णय गरेको हो, जसमा यातायात व्यवसायी सहमत पनि भएका छन् ।
‘कुनै पनि हालतमा सिट क्षमताभन्दा बढी यात्रु नचढाउने निर्णय भएको छ,’ प्रजिअ विश्वराज अर्यालले भने ।
‘यान्त्रिक परिक्षणपछि मात्र यात्रा’
तनहुँको पृथ्वी राजमार्गका अलावा कच्ची सडकमा पछिल्लो समय डरलाग्दा दुर्घटना हुने गरेका छन् । यसको जालो रोक्नका लागि पनि प्रशासनले यसपाली नयाँ निर्देशन दिएको छ, यान्त्रिक परिक्षण ।
प्रजिअ अर्याल भन्छन्,‘प्राविधिक चेकजाँच गराएर मात्र सवारी साधन चलाउन व्यवसायी सहमत भएका छन् ।’ तर विगतका दुर्घटनाहरु हेर्दा त्यो सहमति साँच्चिकै लागू होला नहोला अहिल्यै निश्चित हुने अवस्था भने छैन ।
‘यात्रुबाट बढी भाडा लिन्नौं’
बैठकमा सहभागी यातायात कम्पनीका प्रतिनिधिले प्रदेश सरकार र नेपाल सरकारले तोकेका दरभन्दा बढी भाडा नलिने सहमति गरेका छन् । यस्तो गुनासो पटक पटक आउने गरेको छ ।