एनआरएनए महाधिवेशनः कुल आचार्यद्वारा ‘टिम कुल’को घोषणा, महासचिवमा डा. पौडेल

  • ख-
  • ख+

काठमाडौं ः गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनका लागि अध्यक्ष प्रत्यासी कुल आचार्यले महासचिवमा अमेरिका निवासी डा. केशव पौडेलसहित टिमको उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीको याक एण्ड यति होटलमा एक समारोहको आयोजना गरी सल्लाहकार तथा पूर्व उपाध्यक्ष पौडेलले उम्मेदवारी घोषणा गरे ।

‘पद्धती र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिवद्धता’ नारासहित चुनवी दौडमा उत्रिएका आचार्यले पत्रकार तथा एनआरएनए अगुवाअघि सम्बोधन गर्दै सबैको सहभागिता र अपनत्व कायम गर्ने गरी एनआरएनएलाई साझा बनाउने प्रतिवद्धता जनाए ।

गैरआवासीय नेपालीलाई मुल भूमिसँग जोड्नका लागि दोहोरोन नगरिकताको कार्यान्वयनमा विशेष जोड दिने उनले घोषणा गरे । एनआरएनएलाई पारदर्शी बनाउने घोषणा गरेका आचार्यले कसैको स्वार्थमा यसलाई प्रयोग हुन नदिने बताए ।
आचार्यले मध्यपूर्व तथा मलेसिया र आसपासका मूलुकमा नेपाली श्रमिकले पाएको समसया समाधानमा पनि विशेष ध्यान दिने बताए । आफ्नो कार्यकालमा पाँच लाख सदस्य पु¥याउने महत्वाकांक्षी घोषणा पनि उनले गरे ।
‘नेपालमा लगानी भित्र्याउन पहल’
आचार्यले स्वदेशमा लगानी भित्र्याउनका लागि पहल गर्ने पनि बताए । देशमा लगानी भित्र्याउन देखिएको कानूनी जटिलता समेत कम गर्ने प्रतिवद्धता उनले जनाए ।

पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । उनी लण्डनका स्थापित व्यवसायी हुन् भने समाजसेवी पनि हुन् । करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुले समर्थन जनाएका छन् । एनसीसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आइसीसी उपाध्यक्ष र सल्लाहकारका रुपमा काम गरेका छन्।
टिम कुलको महासचिवमा डा. पौडेल
आचार्यले आफ्नो महासचिव उम्मेदवारका रुपमा यस अघि अपेक्षा गरिएजस्तै अमेरिकाका चिकित्सक डा. केशव पौडेललाई उम्मेदवारका रुपमा अघि सारेका छन् । आचार्यको उम्मेदवारी घोषणा सभामा जुममार्फत अमेरिकाबाट उपस्थित पौडेलले आचार्यलाई समर्थन गर्दै आफ्नो समेत उम्मेदवारी घोषणा गरे ।

एनआरएनए अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका डा. पौडेलले महासचिवका रुपमा उम्मेदवारी दिए पछि टिम कुल बलियो देखिएको छ ।

अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।

कार्यक्रममा एनआरएनएका संस्थापक महासचिब तथा पूर्वराजदूत भीम उदास, आइसीसीका उपाध्यक्ष सोनाम लामा, एनआरएनए अभियन्ताहरु जानकी गुरुङ, हरिबोल भण्डारी, सोम सापकोटा, कविन्द्र न्यौपाने, मनोज गोर्खाली, बेद प्रसाद खरेल, रन्जना उदास, दीपक पुनलगायतले टिम कुललाई समर्थनस्वरुप उपस्थिती दर्शाएका थिए ।
कार्यक्रममा अन्य पदहरुमा समेत उम्मेदवारी घोषणा गरिएको थियो ।

कुल आचार्यका एजेण्डा
–पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
–म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ)को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
–संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।
–राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।
–नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने छ ।
–बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।
–खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाइने छ ।
–कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।
–एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।
–विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।
–एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।
एनआरएनए महाधिवेशन

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्