नयाँ प्रजिअ अर्यालसामु राजनैतिक दबाब झेलेर मध्यधारमा रहने चुनौती

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
राष्ट्रिय विपद् प्राधिकरणबाट प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएर आएका विश्वप्रकाश अर्यालसामू प्रशासन संयन्त्रको अनुभव कम छ । तर सहसचिवस्तरका उनी तनहुँको प्रशासनिक प्रमुखको जिम्मेवारीमा आएका छन् ।

पत्रकारसामु भेटघाट गर्दै उनले आफूले प्रशासनिक बेथिति अनि सुरक्षा व्यवस्थापनसँगै प्रशासनको जिम्मेवारीमा रहेको विकास निर्माणको रेखदेखमा पनि प्राथमिकता रहने बताए ।

भत्किएको सडक, कार्यालयहरुमा सेवाग्राहीको समस्या, ठेकेदारको ढिलासुस्ती आदिबारे जानकारी पाएका प्रजिअ अर्यालले यी सबै विषयमा आफूले देखिनेगरी काम गर्ने दाबी गरे ।

आफूले विकासे योजनाबारे अनुगमन र चासो देखाउने भन्दै ठेकेदारले काम समयमा नगरेको भानु मार्गसहितका बाटोसँगै जर्जर अवस्थामा पुगेको पृथ्वीराजमार्गबारे पनि मर्मत पहल थाल्ने बताए ।

चाडबाडमा बजार अनुगमन अनि कारबाहीको प्रक्रिया थाल्ने पनि उनले बताए । शुरुमा आउनासाथ प्रजिअल दिइहाल्ने प्रतिक्रिया दिन कम नदेखिएका प्रजिअसामु केही दिन तयारीको समय नै छ । उनले कत्तिको सफलतापूर्वक काम गर्छन्, नजिकिंदो चाडका केही समयले नै बताउनेछ ।

राजनीतिक दबाब झेल्न सके सफल
हाई प्रोफाइल राजनीतिज्ञको प्रतिष्पर्धाको क्रिडास्थल मानिने तनहुँमा सरुवा भएसँगै उनका सामु समस्या चाङ छन्, सँगै अवसर पनि ।
शुरुवातमै पत्रकारसँग भेटघाट गरेर आफ्नो प्राथमिकताबारे खुलेर छलफल चलाएका अर्यालसँग प्रजिअ वा गृह प्रशासनको अनुभव कम भए पनि निजामती प्रशासनका क्षेत्रमा भने काम गरेको लामो अनुभव छ ।

यसैको सदुपयोग गरेर राजनैतिक दबाबकाबीच मध्यधारमा रहेर काम गर्न सकेमा भने उनी सफल पनि बन्न सक्लान् । दबाब झेल्न नसकेर कतैतिर झुकाव देखाएमा भने तनहुँको प्रजिअ फेरिइरहने सूचीमा अर्याल पनि अल्लि चाँडै नदरिएलान् भन्न सकिन्न ।

सुरक्षा निकायमा कसी
सुरक्षा निकाय र खासगरी प्रहरी प्रशासन राजनीतिक झुकाव र पक्षधरताका मामिलामा बेलाखबत तल पर्ने गरेको छ ।

यसैगरी, आर्थिक लाभ हुने विषयमा पनि बेलाबखत जोडिरहँदा प्रहरी समेतको नियन्त्रण र परिचालन गर्ने निकायमा रहेका प्रजिअ अर्यालले विशेष चासो दिएमा विकृति रोक्न सकिन्छ ।

सरकारी निकायको सहज सेवा
प्रजिअ अर्यालले मालपोत, कर कार्यालय लगायतको सेवा सुधारमा पहल गर्ने बताएका छन् । मालपोतमा अहिले पनि सेवाग्राहीले बिचौलियाको सहारा नलिइ सहज काम लिन सक्दैनन् । कर कार्यालयमा पनि सहजतापूर्वक सेवा नहुने गुनासो छ ।

भीडभाड हुने कार्यालयको सेवामा सुधार ल्याउन जति प्रशासक आए पनि खास प्रगति नहुने बेला प्रजिअ अर्यालको दक्षता र अनुभव जिल्लावासीले चासो र व्यग्रतापूर्वक नियालीरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी