शुक्ला ८ कांग्रेस प्रकरणः विवाद मिल्यो, सहमतिमा सर्वसम्मत समिति घोषणाको तयारी

  • ख-
  • ख+

दुलेगौंडाः निर्वाचन प्रक्रियामा अवरोध आए पछि देखिएको शुक्लागण्डकी ८ को कांग्रेस वडा अधिवेशन विवादमा सहमति जुटेको छ ।

विवाद मिलाउन जिम्मा पाएको कार्यदलले सर्वसम्मत रुपमा विपिन्द्र सेन ठकुरीलाई वडा सभापति तथा प्रत्यासीलाई क्षेत्रीय प्रतिनिधिमा लैजाने सहमति गरेको बुझिएको छ ।

श्रोतका अनुसार ३७ सदस्यीय समितिमा पार्टी प्रवक्ता महेश्वर भट्टराई पक्षलाई पनि उचित स्थान दिने गरी सहमति भएको छ । ३७ सदस्यीयमा भट्टराईसहित सभापतिका आकांक्षी तथा अरु थप क्षेत्रीय प्रतिनिधि दिने गरी वडा सभापति कृष्ण रेग्मी पक्षधरले सहमति गरेका हुन् ।

सम्भवतः बिहिबार सर्वसम्मत वडा समिति घोषणा हुनेछ । पार्टी क्षेत्रीय सभापति किसान गुरुङ, प्रवक्ता महेश्वर भट्टराई, महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डित, नगर सभापति माधव भट्टराई तथा वडा सभापति कृष्ण रेग्मीसहितको कार्यदलले सहमति गरेको हो ।

सहमतिको खाकाबारे दुवै पक्षले प्रष्ट नखोले पनि प्रवक्ता भट्टराई पक्षधर, वडा सभापतिका प्रत्यासीसहित पाँच जना क्षेत्रीय प्रतिनिधि दिने गरी र नगर सभापति भट्टराई, वडा सभापति रेग्मी पक्षधर सहमत भएका हुन् ।

सहमति नभएमा मतदान गर्ने गरी तयारी भैरहेका बेला नेतृत्वले विवाद मिलाउन सहमति जुटाएको हो ।

पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलको वडा भएका कारण पनि यस वडाको विषयले चर्चा पाएको थियो । तनहुँमा ८५ मध्ये बाँकी वडाको अधिवेशन निर्धारित मितिमै भैसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्