बाढी पहिरोले बुद्धसिं मार्गको बिजोग, ठाउँ ठाउँमा पहिरो, विद्युत अवरुद्ध (तस्बिरहरु)

  • ख-
  • ख+

दमौलीः झण्डै तीन साता अघि आएको बाढी पहिरोका कारण तनहुँको दक्षिणपूर्वी क्षेत्रको लाईफलाईन बुद्धसिं मार्ग ठाउँ ठाउँमा अवरुद्ध छ । तर लामो समयसम्म पनि अवरोध नहट्दा स्थानीय हिंडेरै यात्रा गर्न बाध्य छन् । ठाउँ ठाउँमा ठूलो पहिरो खसेका कारण कतिपय ठाउँमा हिंड्न पनि समस्या देखिएको स्थानीय बताउँछन् ।


‘बेलबास कट्नासाथ सडकमा समस्या छ,’ स्थानीय एवं कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले दमौली न्यूजसँग भने,‘अहिले अवरोध हटाउन केही काम भए पनि त्यो पर्याप्त छैन ।’

मार्गअन्र्तगत न्युरोघारीदेखि धारापानी, रानी ओडारलगायत घुमाउने खण्डसम्म ठाउँ ठाउँमा खसेका ठूला पहिरो हटाउन सकिएको छैन । यसले स्थानीयलाई लामो समयदेखि सास्ती भैरहेको छ । ‘गाडि त कैले चल्ला थाछैन,’ सोलुङका टकबहादुर थापाले भने,‘हिंड्न पनि नमिलेर गाह्रो भो ।’

विद्युत अवरुद्ध
तीन सातायता मार्गमा पर्ने ठाउँ ठाउँमा विद्युत पोल खसेका कारण स्थानीयले बत्ती बाल्न पनि पाएका छैनन् । विद्युत प्राधिकरणले समेत प्रभावकारी काम नगरेको गुनासो स्थानीयको छ ।

प्राधिकरणका अधिकारीहरु भने पहिरो हटाएर नयाँ पोल राख्नका लागि ठाउँ नबनेकाले समस्या भएको बताउँछन् ।

अवरोध हटाउन स्थानीय पहल
आवतजावतमा समस्या देखिएपछि अहिले स्थानीयस्तरमा व्यवसायी बसन्तबहादुर आलेले अवरोध हटाउन सघाइरहेका छन् । तर त्यसको रकम कताबाट आउने हो उनलाई पनि थाहा छैन ।

‘गाह्रो भयो भनेर बाटो खुलाउन सघाएको छु,’ उनले भने,‘तर कतैबाट पैसा नआएर अहिले आफ्नै खर्चले काम भैरहेको छ ।’

जिल्लास्तरीय अनुगमन
सडकको अवस्था खराब भएको र काम नभएको भन्दै प्रदेश सभा सदस्य डोवाटे विकको नेतृत्वमा अनुगमन गरिएको छ । जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठ, कांग्रेस जिल्ला सचिव बाँस्तोला तथा ईञ्जिनियरलगायतको टोलीले सडकको अनुगमन गर्दै तत्काल प्रदेश सरकार र पूर्वाधार कार्यालयलाई काम थाल्न निर्देशन दिने निर्णय गरेको छ ।

कांग्रेस जिल्ला सचिव बाँस्तोलाले दमौली न्यूजसँग भने,‘सडक पूर्वाधारको काम अघि बढाउन ध्यानाकर्षण गर्ने कुरा भएको छ । पूर्वाधार कार्यालय र प्रदेश सरकारको ध्यानाकर्षण गरेका छौं ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्