पैत्रिक सम्पत्ति तथा नागरिकता तथा राहदानीको अधिकार ल्याउने कुल आचार्यको घोषणा

  • ख-
  • ख+

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका उम्मेदवार कुल आचार्यले आफ्ना मुख्य कार्ययोजनाहरु सार्वजनिक गरेका छन् ।

आगामी अक्टोबरमा हुने एनआरएनएको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा गर्ने योजना सार्वजनिक गरेका हुन् ।

झण्डै दुई दशक एनआरएन अभियानमा सक्रिय आचार्यले गैरआवासीय नेपाली नागरिकताको अधिकारलाई स्थापित गर्ने घोषणा गरेका छन् । आचार्यले भने, “तेस्रो पुस्ता पछिका गैरआवासीय नेपालीहरुको नेपालमा पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा नागरिकताको अधिकार स्थापित गर्ने मेरो योजना छ ।

त्यस्तै मैले पैत्रिक सम्पतिको अधिकार सुरक्षित गर्नुका साथै राहदानी सहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न पहल गर्ने छु ।’

एनआरएनएलाई संसारभर रहेका प्रवासी नेपालीहरुको साझा संस्था बनाउने घोषणा गरेका अध्यक्ष प्रत्यासी आचार्यले नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने अभियानको घोषणा गरेका छन् । ‘म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई ’पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्नेछु’ आचार्यले भने ।

आगामी दुइ वर्ष भित्र संघका पन्जीकृत सदस्यहरुको संख्या कम्तीमा पाँच लाख पुर्याउने योजना बनाएका आचार्यले संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या एक सय पुर्याउने बताए । हालसम्म ८४ देशमा एनआरएन स्थापना भएपनि बीस भन्दा बढी एनसीसी निष्कृय रहेका छन् ।

नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने बताउँदै आचार्यले कोभिडका कारण रोजगारी गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने घोषणा पनि गरेका छन् ।

गैरआवासीय नेपाली तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने कार्ययोजना बनाएका आचार्यले विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्ने र अनलाइन कक्षाहरु संचालन गरिने पनि जनाए ।

गैरआवासीय नेपालीहरुको खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने पनि उनको योजना छ । एनआरएनएले सञ्चालन गरेका परियोजना लक्षित समूह र समुदायको प्रत्यक्ष सहभागिता र साझेदारीमा सञ्चालन गर्ने योजना बनाएका आचार्यले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि अभियान सञ्चालन गर्ने र त्यसका लागि आवश्यक प्रवन्ध गर्ने पनि बताएका छन् ।

यसअघि नै एनआरएनएका विभिन्न पद र निकायमा रहेर काम गरिसकेका आचार्यले हालसम्मको अनुभव र नयाँ कार्ययोजनाका आधारमा संसारभर फैलिएका नेपालीहरुलाई मातृभूमिसँग जोड्दै अगाडि बढ्ने आफ्नो योजना रहेको बताएका छन् । उनले आफ्नो उम्मेदवारीबारे छिट्टै एक कार्यक्रम मार्फत औपचारिक घोषणा गर्ने पनि जनाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्