उम्मेदवारी घोषणा गर्दै हड्खलेले भने,‘म पछि हट्दिन, मेरै नाममा सहमति हुन सक्छ’ (भिडिओ)

  • ख-
  • ख+

दमौलीः नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका सभापति सूर्यचन्द्र हड्खलेले नेपाली कांग्रेस व्यास नगर सभापतिमा लड्ने घोषणा गरेका छन् । दमौलीमा शनिबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यस अघि देखि नै चुनावी तयारीमा अघि बढेका हड्खलेले आफू पछि हट्न नभई सभापति बन्नका लागि दौडमा उत्रिएको बताए । ‘म सभापति नै हुन्छु,’ उनले पत्रकारसँग भने,‘आज त्यही भएर तपाईंहरुका अगाडि घोषणा गरेको हुँ ।’

सभापतिका लागि अरु पनि आकांक्षी रहेको सन्दर्भमा तपाईंको सम्भावना कति भन्ने प्रश्नमा हड्खलेले आफू मैदानबाट पछि नहट्ने र आफ्नै नाममा सहमति हुने विश्वास व्यक्त गरे । ‘सहमतिबाट नेतृत्व चयन भएमा पनि मेरो नाममा हुन सक्छ,’ उनले भने ।

ट्रेड युनियन कांग्रेस नेता रमेशचन्द्र हड्खलेसमेत उपस्थित पत्रकार सम्मेलनमा हड्खलेले आफ्नो चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गरे । हड्खलेले आफ्नो उम्मेदवारीले पार्टीलाई थप बलियो र लोकप्रिय बनाउने दाबी गरे ।

उनले सबै अटाउने पार्टी बनाउने, कार्यकर्तालाई प्रशिक्षित पार्ने, योगदानको मूल्यांकनको वातावरण बनाउने तथा सबैको अपनत्व पार्टीमा बनाउने बताए ।

२०४२ सालको सत्याग्रहदेखि आफू र परिवारसमेतको पार्टीमा योगदान रहेको भन्दै हड्खलेले आफू सभापतिका लागि योग्य रहेको बताए । पत्रकार सम्मेलनमा व्यास नगर उप सभापतिमा उम्मेदवारी घोषणा गरेका क्याप्टेन सुर्जकुमार मल्ल पनि उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी