
दमौलीः पूर्व सह महामन्त्री गोविन्दराज जोशीमाथि पार्टीले गरेको अनुशासनको कारबाही फिर्ता लिन माग गर्दै उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।
नेपाल खबरका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई पत्र पठाएर उनले पूर्वगृहमन्त्रीसमेत रहेका जोशीमाथि गरिएको गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन् ।
यस अघि नेता जोशीमाथि कारवाही फिर्ता लिन कांग्रेस जिल्ला नेतृत्वले समेत सिफारिस गरे पनि हुन सकेको थिएन ।
यसै सन्दर्भमा सभापतिका प्रत्यासी समेत रहेका निधिले कारबाही फिर्ताको निर्णय गर्न अविलम्ब केन्द्रीय कार्यसमिति बैठक बोलाउन अनुरोध गरेका छन् ।
निधिका प्रेस सल्लाहकार रामजी दाहालले अनुशासनका नाममा पुराना नेतालाई कारबाही गरेर महाधिवेशनमा भाग लिन नदिनु गलत भएकाले निधिले पत्र पठाएको बताए । ‘यसले पार्टी मात्र नभएर आम चुनावमा पनि असर पार्छ,’ निधिलाई उद्धृत गर्दै दाहालले भने,‘अबको आम चुनावमा समग्रमा चुनाव जित्ने वतावरण बनाउनुपर्छ । हिजो पनि फिर्ता लिएको उदाहरण छन् । त्यही अनुुशरण गर्नुपर्छ ।’
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीले जोहीसहित अर्का नेता पुष्करनाथ ओझामाथि कारबाही गरेको थियो ।
सोही कारण जोशीनिकट कार्यकर्ताले पार्टी क्रियाशिल सदस्यता नवीकरण समेत गराएका छैनन् ।
महाधिवेशन नजिकिंदै गर्दा उप सभापति निधिको यो पत्रले कांग्रेस राजनीतिमा फेरि तरंग पैदा भएको छ ।