
पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको नेतृत्व गरेर माधवकुमार नेपालले एमाले सरकार प्रतिगामीको पाउमा चढाएको आरोप लगाएका छन् ।
पोखरामा मंगलबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेपालको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलेको भन्दै नेपाललाई एमालेको कुपात्रको संज्ञा दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अफगानस्तानमा रहेका नेपालीको उद्धार सरकारले गर्न नसकेको भन्दै जनताका लागि यो सरकारले केहि काम नगर्ने आरोप लगाए । सिधै विद्रोही तालिवानसँग फोन गरेर आफ्ना नागरिकको उद्धार गर्न उनको आग्रह छ ।
एमाले २०७५ जेठ २ मा जस्ताको त्यस्तै फर्किन नसक्ने ओलीले दोहोर्याए । १० बुँदे सहमति विवादको समाधानका लागि भएको भन्दै उनले पहिलेकै अवस्थामा हुबहु फर्किन असम्भव रहेको सुनाए ।