विश्व बैंकलाई मुख्यमन्त्री पोखरेलले भने,’ठूला आयोजनामा सघाउनुस्’

  • ख-
  • ख+

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गरे ।

उनले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा गरे । उनले भने, ‘विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दछु ।’

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै उनले गण्डकी प्रदेशको विकासमा पनि योगदान गर्दै आएकामा धन्यवाद दिए । मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हाम्रा विकासका प्राथमिकता र सम्भावनाका सवालमा यहाँहरुसँग हातेमालो गर्न इच्छुक छ ।’

प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उनले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा ८ प्रतिशत योगदान गर्ने जानकारी गराए । राजस्व परिचालन २ देखि३ अर्बको बीचमा रहेको भन्दै उनले प्रदेशमाआर्थिक क्रियाकलापहरु कम भएकाले स्रोत परिचालन न्यून रहेको उल्लेख गरे ।

सिमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकताहरु निर्धारण गरी अगाडि बढेको अवस्थामा आकस्मिकरुपमा आएको कोभिड महामारीले आर्थिक सामाजिक अवस्थालाई क्षत विक्षत पारेको मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेश सरकारले एकातिर कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गर्नु आवश्यक रहेको भन्दै उनले भने, ‘अर्कोतर्फ हामीले तय गरेको १०.२ प्रतिशतको आर्थिक बृद्धि, समृद्ध प्रदेश सुखी नागरिकको सोच पूरा गर्न विशेष प्रयत्न गर्नु आवश्यक छ ।’

मुुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने हुन्छ । तर हालसम्मको लगानी प्रक्षेपणको तुलनामा निकै कम रहेको उनले बताए । लगानीको लक्ष्य भेटाउन प्रदेशले विश्व बैंकजस्ता संस्थासँग सहयोगको अपेक्षा गर्नु पर्ने उनको भनाइ थियो ।

सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्ग प्रशस्त गर्ने भन्दै उनले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नु पर्ने वाध्यता रहेको जानकारी गराए । उनले भने, ‘हिमाली जिल्लाहरुमा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न सकिएको छैन । त्यसैले यस प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्धत गर्नेछ ।’

मुस्ताङको कोरला नाकादेखि पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा २ लेनको डेडिकेटेड सडकका रुपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरुप नै फेरिने भन्दै मुख्यमन्त्री पोखरेलले छ । यो मार्गलाई गण्डकी प्रदेशले समृद्धि मार्गको रुपमा लिएको छ । पोखरादेखि काठमाडौंको यात्रा बढीमा २ घन्टामा पार गर्न सक्ने बनाउनका लागि विश्व बैंकको सहयोग रहेमा यो प्रदेश समृद्ध हुन ठूलो मद्धत मिल्ने मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेश सदरमुकामसँग जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रहरु जोडने सडकको स्तरोन्नतिमा ठूलो सहयोगको खाँचो छ ।’

पर्यटकीय पूर्वाधारहरु पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मादी नदी उपत्यका विकासको बृहत परियोजना, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हिमाली जिल्ला मनाङमा गल्फ मैदान लगायतका पूर्वाधार कार्यान्वयनमा ल्याउन मद्धत गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलका अनुसार मस्र्याङ्दी उपत्यका विकासको बृहत परियोजना, कालीगण्डकी भ्याली विकास परियोजना, मुस्ताङ भ्याली विकास परियोजना, नवलपुरदेखि गजेन्द्रधामसम्म नारायणी नदी नियन्त्रण र संरक्षण सम्बन्धी बहुउद्देश्यीय विकास आयोजना प्रदेशका सपना हुन् । उनले भने, ‘यिनको कार्यान्वयनमा विश्व बैंकको सहयोग रहने अपेक्षा छ ।’
उच्च भूभागमा रहेको गोरखाको चुमनुम्री उपत्यकामा हाइ एल्टिच्युडमा अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङस्थल विकास गर्ने कार्यमा सहयोगको अपेक्षा रहेको मुख्यमन्त्री पोखरेलले बताए ।


कोभिड विरुद्धको खोपको प्रभावकारिता बढिरहे पनि नेपालमा खोप खरिद प्रक्रियामा भएको ढिलासुस्तीबारे उनले असन्तुष्टि जनाए । स्कुले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाएर विद्यालय खोल्ने वातावरण सिर्जना गर्नुपर्ने तर्फ उनले ध्यानाकर्षण गराए ।
उक्त भेटघाटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्