व्यासमा पठनपाठनः ‘ठाउँ हेरि विद्यालयमै पढाउन सकिन्छ’

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकाको नयाँ पठनपाठनमा सुझाव दिनका लागि गठित समितिले भूगोल हेरि विद्यालयमै उपस्थित भएर पनि पठनपाठन गर्न सकिने सुझाव दिएको छ । असोजबाट पठनपाठन सञ्चालनका लागि आवश्यक सुझाव दिन भन्दै नगरपालिकाले गठन गरेको समितिले नगर प्रमुखलाई बुझाएको सुझावमा अनुकुलता हेरेर विद्यालयमै पनि पढाई सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा प्रष्ट उल्लेख नभए पनि यसले घना बस्तीबाट टाढा रहेका र कम संख्या भएका विद्यालयलाई विद्यार्थी बोलाएर पठनपाठन गर्न सकिने सुझाव दिएको समितिका संयोजक एवं नगर शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले बताए । तर त्यसका लागि भने सरकारको स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकालाई सुझाव दिनका लागि गठित समितिमा विद्यालयहरुको निजी विद्यालयहरुको छाता संस्था तथा सामुदायिक विद्यालयका प्रतिनिधि सहभागी थिए । समितिले सिकाईका अन्य विकल्पहरु पनि विद्यालयको अनुकुलताअनुसार सञ्चालन गर्न सकिने प्रतिवेदनमा राखिएको नगर शिक्षा प्रमुख रेग्मीको भनाई छ ।

‘सबै ठाउँमा अनलाईन प्रविधिबाट शिक्षा सञ्चालन गर्न नमिल्ने सुझाव आएकाले आफ्नो ठाउँहेरि प्रत्यक्ष वा विकल्पका रुपमा रेडियो तथा टिभीबाट पनि पठनपाठन सञ्चालन गर्न सकिन्छ,’ नगरपालिकाको शिक्षा शाखाका अर्का अधिकारीले भने ।

प्रतिवेदनमा विद्यालयमै सिकाई प्रक्रिया सञ्चालन गर्दा राखिने विद्यार्थी संख्याबारे भने सरकारले तोकेको संख्यालाई आधार मान्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा विद्यालयमा न्यूनतम स्वास्थ्य सामग्री भने नगरपालिकाले उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई प्रतिवेदन बुझाइए पनि नगरपालिकाले भने सिकाई प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे कुनै निर्णय गरेको छैन ।

आगामी ६ गते प्रधानाध्यापकको बैठकपछि बस्ने बोर्ड बैठकले समितिको सुझावका आधारमा आवश्यक निर्णय गर्ने नगर शिक्षा प्रमुख रेग्मीले बताए । ‘समितिको सुझावका आधारमा नगर कार्यपालिकाले निर्णय गर्नेछ,’ उनले भने ।

विद्यालयबाट सुझाव माग
समितिले प्रतिवेदन दिए पछि नगरपालिकाले वैकल्पिक विधिबाट कसरी सिकाउन सकिन्छ भनेर विद्यालयहरुसँग सुझाव माग गरेको छ ।

शिक्षा शाखाले विद्यालयहरुमा पत्र पठाउँदै आवश्यक गृहकार्य गरेर वैकल्पिक विधिबाट सिकाइने माध्यम, कक्षामा हुने विद्यार्थी संख्या, स्वास्थ्यका मापदण्ड, विव्यस, अभिभावक तथा सरोकारवालाको बैठकको निर्णयसमेत नगरपालिकाले माग गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी