मलामी जाँदा गाउँभरि त्रास, परिवारदेखि पण्डितसम्म संक्रमित

  • ख-
  • ख+

काठमाडौं । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’ भन्ने नेपाली भनाइ छ। तर कोरोना महामारीका बेला कसैको मृत्युमा मलामी जानु कति त्रासदीपुर्ण हुन्छ भन्ने रुपन्देहीमा देखिएको छ।

रूपन्देहीको बुटवलमा क्यान्सरबाट पीडित एक बिरामी महिलाको मृत्युपछि मलामी गएका सबै संक्रमित भएपछि अहिले गाउँभरि त्रास फैलिएको छ। मलामीबाट यसरी संक्रमण फैलियो कि परिवारका सदस्यदेखि अन्तिम संस्कार गराएका पण्डितसम्म संक्रमित भए ।

साउन १८ गते बुटवल उपमहानगरपालिका ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर अस्पताललाई सोधेका थिए। केमोथेरापीका क्रममा हृदयाघातबाट मृत्यु भएकाले अस्पतालले स्वाब संकलन नगरी शव पठायो।

देवरबाट पण्डितसम्म यसरी फैलियो संक्रमण
अस्पतालले आत्मविश्वासका साथ शव दिएपछि परिबारले हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरे। सामान्य मृत्यु ठानेर छिमेकी, नातागोता र गाउँले मलामी गए। उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोभिड–१९ को लक्षण देखियो। रुघा लाग्ने, ज्वरो आउने र पखाला लाग्ने हुन थालेपछि उनी शंका लागेर जचाउन गए। साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।
मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूमा त्रास फैलियो। उनीहरुले परीक्षण गराउँदा उनीहरुमा पनि पोजेटिभ देखिएको बुटबल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले बताए।

‘उक्त दिन करिब ४५ जना मलामी गएको हाम्रो कन्ट्याक्ट ट्रेसिङबाट पाइएको छ,’ मेयर सुवेदीले भने, ‘बुटवल उपमहानगरपालिकाको परीक्षणमा मात्र १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ, अन्य केहीले निजीमा गराउँदा पनि पोजेटिभ आएको छ।’

सुरुमा नगरले नमुना परीक्षण गर्दा देवरमा पोजेटिभ आयो अनि परिवारलाई अन्तिम संस्कारमै सजग हुन भनिएकाले समुदायमा फैलिएर व्यापक हुनसक्ने अवस्थाबाट बँचेको मेयर सुवेदीले बताए। मृतकका देवर स्थानीय नेता भएकाले उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पार्टी कार्यालय सिल गरिएको सुवेदीले बताए ।

‘मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने यकिन भइसकेको छैन,’ मेयर सुवेदीले भने, ‘ हामी यसको खोजी गरिरहेका छौ मलामीमा सहभागी भएर काठमाडौ पुगेका एक व्यक्तिमा समेत पोजेटिभ पाइएको छ।

वुटवलमा अहिले १ सय ४४ जना संक्रमित रहेका छन् । यीमध्ये ३० जना उक्त मलामीमा सहभागी भएका व्यक्ति रहेका छन्।

उक्त अन्तिम संस्कारमा सहभागी भएका पण्डितसम्म सक्रमण देखिएको मेयर सुवेदीले बताए। ‘मृतकका परिवार सबैमा संक्रमण देखिएको छ,’ उनले भने, ‘७८ वर्षकी सासुमा समेत पोजेटिभ आएको छ।’ मृतकका श्रीमान, छोरा, ज्वाइँ, आमा तथा छोरीमा पोजेटिभ देखिएको उनले बताए। देवरतर्फ चार जनामा संक्रमण पुष्टि भएको छ। एक जना ज्वाइँलाई समेत कोरोना पुष्टि भएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी