मुग्लिङ पोखरा सडक विस्तारः तनहुँमा पौने ७ हजार रुख काटिंदै

  • ख-
  • ख+

दमौलीः विस्तार शुरु प्रक्रियामा रहेको पृथ्वी राजमार्गअन्र्तगत मुग्लिङ पोखरा सडकको विस्तारका क्रममा ६ हजार सात सय ५० रुख काटिने भएको छ । ८१ किलोमिटर सडकलाई चार लेनको बनाउनका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएर काम अघि बढ्न थालेको छ ।


तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४० किलोमिटर र जामुनेबाट पोखराको पृथ्वी चोकसम्मको अर्को ४१ किलोमिटर खण्डका लागि गरी दुई बेग्ला बेग्लै ठेकेदार नियुक्त भएर प्रक्रिया अघि बढाइरहेका छन् ।

तीन वर्षभित्र काम

तीन वर्षभित्र काम सक्ने गरी जिम्मा पाएका ठेकेदारले काम थाल्नुअघि विस्तारका क्रममा राजमार्गअन्र्तगत सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि लगत राखेर काम अघि बढाउन थालिएको आयोजनाको आँबुखैरेनी–जामुने प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘काट्नुपर्ने रुखको लगत निकालेर अब कसरी अनि कहिले थाल्ने भन्ने गृहकार्य थालिएको छ,’ उनले दमौली न्यूजसँग भने ।

आयोजनाले यस अघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी आठ किलोमिटर विद्युतका लाईन स्थानान्तरण गरेको छ । अब विद्युत लाईन सार्ने कामसँगै राजमार्गमा परेका रुख कटानलाई प्राथमिकता दिइएको छ । सुवेदीले भने केही दिनमै यसको प्रक्रिया अघि बढाउने योजना रहेको बताए ।

वन डिभिजन तनहुँसँग आयोजनाले आफ्ना प्राविधिकका तर्फबाट तयार पारिएको सूची बुझाएर छलफल अघि बढाएको छ । ‘विकासका योजना गर्दा रुख काट्नुपर्ने बाध्यता हो,’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने,‘सकेसम्म पर्यावरणमा कम असर पार्ने गरी काम गर्न सुझाव दिएका छौं ।’

साढे १३ अर्ब लागत

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको सडकका लागि आँबु दमौली खण्डको ४१ किलोमिटर सडकका लागि ६ अर्ब २० करोड तथा जामुनेबाट पोखरा पृथ्वी चोकसम्मको खण्डका लागि ७ अर्ब ४० करोड गरी १३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । दुवै तर्फका सडकमा आयोजना कार्यालय तथा ठेकेदारको सम्पर्क कार्यालय समेत राखेर काम अघि बढाउन थालिएको छ ।

तनहुँ प्रशासनले समेत आयोजनाका लागि आवश्यक सहजीकरणको काम भैरहेको जनाएको छ । ‘सडकका लागि आवश्यक निजी जग्गाका लागि मुआब्जाको प्रक्रियामा पनि सघाइरहेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘आवश्यक काममा सहजीकरण भैरहेको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी