
केशवटार: केशवटारस्थित महिलाद्वारा संचालित साथी बचत तथा ऋण सहकारी संस्थाले कोभिड रोग रोकथाम तथा नियन्त्रणका हेतुले आफनो शेयर सदस्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाको अध्यक्ष नन्द कुमारी आलेको नेतृत्वमा सहकारीले शेयर सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
१५२५ महिला शेयर सदस्य रहेको संस्थाले वडाका अध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यतामा व्यास नगरपालिका वडा नं १४ भित्र र बन्दीपुर गाउँपालिका अन्र्तगत रामकोट, सुखौरा र शेराटारमा रहेको आफनो महिला सदस्यहरुलाई सामग्री हस्तान्तरण गरेको हो ।
संस्थाले वडाको १० वटै टोल टोलमा पुगेर स्वास्थ्य समाग्री वितरण गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै यस्तो काम गर्नु सकारात्मक भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । संस्था स्थापना भएदेखि नै महिलाको नेतृत्व विकास, स्वनिर्भर र आयआर्जनमा कार्य गर्दे आएको र अहिलेको स्वास्थ्य समाग्री वितरण कार्य पनि जनउत्तरदायी भएको संस्थाका पूर्व अध्यक्ष एवं व्यास नगर कार्यपालिकाका सदस्य नरिमाया रानाले बताइन् ।
कोभिडको जोखिमबाट सदस्यलाई जोगाउन सचेतनास्वरुप टोलमा पुगि १५२५ घरधुरीलाई नै हात धुने साबन २ थान, १० पिस मास्क र अन्य गरि कुल एक लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौ, संस्थाका अध्यक्ष नन्द कुमारी आलेले वताईन । कार्यक्रममा वडा सदस्य मोहन आले लगायत स्थानीयको उपस्थिती थियो ।