ब्राह्मण समाजको सामूहिक रक्षाबन्धनमा साढे दुई सय सहभागी (भिडिओ)

  • ख-
  • ख+

दमौलीः ब्राह्मण समाज नेपाल तनहुँले दमौली अनशन चौतारीमा सञ्चालन गरेको रक्षाबन्धन कार्यक्रममा झण्डै साढे दुई सय जनाले रक्षाको प्रतिक धागो बाँधेका छन् । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकले प्रमुख अतिथिका रुपमा कार्यक्रम शुरुवात गरेका थिए ।


हिन्दू धर्म र दर्शनमा विभेदलाई स्थान नभएको भन्दै सबैका लागि सहभागीता गराउन यसपाली कोभिड जोखिमका बीच पनि सार्वजनिक रुपमा रक्षासुत्र बाँध्ने काम गरिएको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले जानकारी दिए ।


उनले धर्मले कसैलाई पनि विभेद नगरेको भन्दै सबैलाई अवसर दिन पनि सार्वजनिक थलोमा कार्यक्रम गरिएको बताए । बिहान नौ बजेबाट मध्याह्न १२ बजेसम्म रक्षाबन्धन कार्य चलेको थियो । समाजका पदाधिकारी तथा पराशर गुरुकुल आश्रमका वटुकले इच्छुकलाई रक्षासुत्र बाँधिदिएका थिए ।


ब्राह्मणहरुले शिव पाञ्चायन मन्दिरमा वैदिक विधिपूर्व मन्त्रण गरिएको रक्षासुत्र इच्छुक सबैका लागि बाँधिएको भन्दै समाजका अध्यक्ष कृष्णचन्द्र पाण्डेले साढे दुई सय सहभागी भएको बताए ।
आयोजकहरुले सहभागीको प्रोत्साहनबाट उत्साही भएको भन्दै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्