
दमौलीः लामो समयको द्वन्द्व र कलहलाई बिट मार्दै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले समाजवादी पार्टी विभाजन भए पछि त्यसले राष्ट्रिय र खासगरी कम्युनिष्ट राजनीतिमा गहिरो प्रभाव पार्ने आँकलन गरिएको छ ।
शुरुदेखिका दोश्रो पुस्ताका नेताले हाल नेपाललाई साथ नदिए पनि ठूलो संख्यामा सांसद र केन्द्रीय नेताले साथ दिनुले नेपाललाई केही बल पुगेको छ भने दुवैतिरका नेता तान्ने प्रयास अबका केही दिन भने निरन्तर रहनेछ ।
तुलनात्मक रुपमा कमजोर देखिए पनि कटिबद्ध कार्यकर्ता रहेको तनहुँमा एमाले समाजवादीले कत्तिको साथ पाउला त्यो भने जिल्लाका चियापसलहरुमा गर्मागर्मी बहसको विषय बन्न पुगेको छ ।
‘हाम्रो समूहमा प्रतिवद्ध धेरै कार्यकर्ता हामीसँगै छन्,’ दमौली न्यूजसँगको कुराकानीमा एक नेताले भने,‘एमालेबाट पनि तान्ने प्रयास भैरहेको छ ।’
पहिल्यैदेखि नेपाल खेमामा रहेका नेताहरु एकाधबाहेक नयाँ दलसँग प्रतिवद्ध देखिएका छन् । केही समय अघि नै समूहबाट दूरी बनाएका विष्णुभक्त सिग्देल लगभग नयाँ समुहमा नजाने देखिएको छ । तर त्यसबाहेकका पुराना सहयात्री प्रतापलाल श्रेष्ठ, रेखा थापा बस्याल केन्द्रीय समितिमै अटाएका छन् ।
यसबाहेक समानान्तर जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, प्रतिनिधि सभा सदस्य कलिला खान, नेता विद्या ढकाल,तत्कालीन नगर अध्यक्ष श्रीराम कार्की, युवा संघका कमल गैह्रे, अनेरास्ववियु तनहँका पुर्व अध्यक्ष तथा प्रेस चौतारीका नेता तेजप्रसाद वाग्लेलगायत प्रष्टसँग नेपालको साथमा देखिएका छन् । ‘हाम्रो समूहमा प्रतिवद्ध धेरै कार्यकर्ता हामीसँगै छन्,’ दमौली न्यूजसँगको कुराकानीमा एक नेताले भने,‘एमालेबाट पनि तान्ने प्रयास भैरहेको छ ।’
प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बनेमा भने उनको समूहमा रहेका धेरै नेपाल समूहमा जाने सम्भावना छ ।
किसानले कति तान्लान् ?
हालै सो समूहमा समावेश भएका प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले कत्तिको कार्यकर्ता सो समूहमा लैजान्छन्, धेरैको चासो त्यसैमा छ ।
ओली समूहमा रहँदा उनीसँग निकै निकट ठानिएका श्रेष्ठले उनको साथ छाड्ने कमैलाई अनुमान थियो । तर हाल नेपाल समूहमा समेत प्रभाव राख्ने ठानिएका श्रेष्ठ एमाले समाजवादीमा आवद्ध भए पनि उनका पक्षमा उनीनिकट कार्यकर्ताले सार्वजनिक रुपमा खुलिसकेका छैनन् ।

उनीसँग अति निकट ठानिएका ईश्वरबहादुर बिष्ट, माधवबहादुर पन्त, विश्व न्यौपाने, कविराज श्रेष्ठलगायत जिल्लामा प्रष्ट खुलिसकेका छैनन् । उनीनिकटका युवा संघ, अनेरास्ववियु, मुस्लिम भ्रातृ संगठन, प्रेस चौतारी र विभिन्न भ्रातृ संगठनमा रहेका केहीले पहिले ओली समूहमै कायम भएका छन् ।
‘मन्त्री बने नेपाल नत्र ओली’
तर श्रेष्ठ भने आफूसँगकालाई आफ्नै नयाँ समूहमा आवद्ध गराउने प्रयासमा देखिन्छन् । त्यसमा उनको मन्त्री बन्ने नबन्ने कुराले ठूलो भूमिका खेल्ने जानकार बताउँछन् । श्रेष्ठलाई नेपाल समूहको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने अफर छ ।
यस्तोमा उनी मन्त्री बनेमा भने उनको समूहमा रहेका धेरै नेपाल समूहमा जाने सम्भावना छ । यसैका आधारमा श्रेष्ठले गृहकार्य पनि गरेको बताइन्छ । तर त्यसो नभएमा भने व्यक्तिगत रुपमा मात्र श्रेष्ठको साथमा रहने तर पार्टीगत रुपमा ओली समूहमै रहने धेरैको मनशाय रहेको उनीनिकट बताउँछन् ।