सर्वस्वहरणका बेला आड दिनेसँगको मुख्यमन्त्रीको त्यो नोस्टाल्जिया

  • ख-
  • ख+

दमौलीः लामो समय जन्मे हुर्केर राजनीति समेत गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक कार्यथलो पछिल्लो समययता नवलपुर बनेको छ । तनहुँमा जन्मे हुर्केर राजनीति थालेका पोखरेल मुख्यमन्त्री बनेको लामो समयपछि गृह क्षेत्रको औपचारिक भ्रमणमा आएका थिए ।

सरकारी कार्यक्रम, पार्टी अनि अरु एकाध कार्यक्रमको व्यस्ततालाई बिर्सेर केही नितान्त पारिवारिक भेटघाटमा पनि पुग्न भ्याए, पोखरेल । पोखरेलले कतिपयको शोकमा पनि सहानुभूति दिन समय निकाले । तर उनले भेटेको एक भेट भने अर्थपूर्ण थियो ।

उनको पुख्र्यौली थलो पोखरेलफाँट नजिकै रहेको भट्टराई परिवारले तत्कालीन पञ्चायत शासकविरुद्धको आन्दोलनका क्रममा सर्वस्वहरणको सजाय पाएको गोवद्र्धन पोखरेलको परिवारलाई ठूलो आड दिएको थियो । तिनै परिवारकी सदस्य ९९ वर्षिया जमुना भट्टराईलाई भेट्न समय निकालेर पुगेका थिए, मुख्यमन्त्री पोखरेल ।

अझै पनि टाठै जमुनाका मानसपटलबाट कतिपय पुराना याद विस्मृत भैसकेका थिए । तर मुख्यमन्त्रीले ती दिन सम्झाए । ‘हामीलाई पुलिसले दुःख दिंदा बास दिनुहुन्थ्यो । पकाएर खुवाउनुहुन्थ्यो,’ मुख्यमन्त्रीको भनाई उद्धृत गर्दै कांग्रेस नेतृ एवं भट्टराईकी नातिनी बुहारी सुशिला शर्माले भनिन् ।‘हामी लुक्दै हिंड्दा छोराछोरीजस्तै आड दिनुभयो,’ लामो समयपछिको भावनात्मक भेटघाटमा मुख्यमन्त्रीले भनेका थिए ।


जमुना प्रजातन्त्र सेनानी बद्रिहरी भट्टराईकी आमा हुन् । कांग्रेसको राजनीतिमा पुरानो समयदेखिको संघर्षमा सहभागी पोखरेल परिवारले अर्को त्यस्तै संघर्षमा जोडिएको भट्टराई परिवारसँगको त्यो भेट भावनात्मक र आत्मिय बढी देखिन्थ्यो । मुख्यमन्त्रीले बद्रिहरिसँग पनि पुराना सम्झना साटासाट गरे । भेटघाटलगत्तै उनले सामाजिक सञ्जालमा एक भावनात्मक स्ट्याटस राख्दै भट्टराईसँगको भेटलाई कांग्रेससँग जोडिएको पोखरेल परिवारको आन्दोलनको इतिहाससँग जोडेका छन् ।

पीडामा साथ

मुख्यमन्त्री पोखरेलले आफू फराकचौरमा राजनीतिक यात्रामा सघाएका अर्को त्यस्तै परिवारलाई पनि सम्झिएका छन् । हालै निधन भएकी तत्कालीन फराकचौरकी वस्तीमाया श्रेष्ठको घरमा पुगेर मुख्यमन्त्रीले सान्त्वना दिए ।

उनका पुत्र एवं तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईका पूर्व सभापति राजकुमार श्रेष्ठ राकुले पारिवारिक शोकका बेला पाएको सान्त्वनाले केही राहत मिलेको बताए ।
मुख्यमन्त्रीले मातृवियोगमा रहेका व्यास नगर सभा सदस्य चुडामणि दाहालको घरमा समेत पुगेर सान्त्वना दिए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी