
विकास खनाल
दमौलीः १० दिनसम्म म्याग्देमा विद्युत नियमित नभएको भन्दै म्याग्देवासीले नेपाल प्राधिकरण तनहुँ वितरण केन्द्रमा धर्ना दिएका छन् ।
कम भोल्टेजको लाईन आउने तथा कतिपय अवस्थामा विद्युत नै नआउने समस्या भोगेको लामो समयसम्म पनि समाधान ननिस्केको भन्दै धर्ना दिन आउन बाध्य भएको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईका सभापति भीमलाल श्रेष्ठले बताए । ‘विद्युत जाने आउने गर्दा अधिकांश व्यापारीलाई मर्का परेको छ,’ उनले भने,‘फ्रिजमा राख्ने सामान बिग्रेर नोक्सानी भएको छ ।’
अहिलेको जमानामा पनि के कारणले लाइन बिग्रेको हो भनेर थाहा पाउन नसक्नु ज्यादै लज्जास्पद भएको भन्दै स्थानीय शिक्षक राम घिमिरेले कार्यालयमा कस्ता प्राविधिक छन् ? भन्दै प्रश्न गरे । ‘नसक्ने भए सक्दैनौं भन्नुस हामी प्रदेश केन्द्र गुहार्छाैँ ! तर हेलचक्र्याइ गर्न पाइँदैन,’ आक्रोसित मुद्रामा घिमिरेले भने ।
गर्मीमा आहत
गर्मीको समयमा यति धेरै दिन लाइन जाँदा पनि मर्मतका लागि प्राधिकरण नतातेको भन्दै अब कहिलेसम्ममा लाइन आउँछ ? ठ्याक्कै त्यो बताइदिनुस भन्दै उपकार सहकारीका अध्यक्ष एवं सामाजिक अगुवा रामभक्त घिमिरेले अनुरोध गरे । ‘कोभिड १९ का कारण विद्यार्थीहरू अनलाइन कक्षा लिन पर्ने अवस्थामा छन्,’ उनले भने,‘बिजुली नभएपछि उनिहरू शिक्षा बाट बन्चित हुनु परेको छ । यसको तत्काल मर्मत होस् ।’
आईतबारसम्म समस्या पत्ता नलागे ताला लगाउँछौं
अब आइतबार सम्म पनि अहिलेकै अवस्था भइरहे प्राधिकरणमा ताला लगाइदिने भन्दै त्यस्तो अवस्था आउन नदिन तरूण दलका नेता रमेश अधिकारीले आक्रोशित आग्रह गरे । ‘आज प्रतिनिधिमुलक तरिकाले थोरै मात्रै आएका छौँ, सधैं यस्तै भइरहे प्रत्येक घर बाट आउँछौ,’ सहभागीहरूको आक्रोस थियो ।
धर्ना कार्यक्रममा नागरिक समाजका अध्यक्ष बालचन्द्र भट्टराई, आदर्श नमुना क्लवका अध्यक्ष गौरवराज राना , स्थानीय युवा अगुवा सुन्दरमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
‘हामी निरन्तर लागिरहेका छौं,अब आपूर्ति सहज हुन्छ’
धर्नामा आएका म्याग्देवासीलाई वितरण केन्द्र प्रमुख ईञ्जिनियर सोवितबहादुर क्षेत्रीले साँझसम्ममा विद्युत आपूर्ति सहज हुने आश्वासन दिए । ‘हामी निरन्तर लागिरहेका छौँ म आफैं पनि खटि रहेकोछ्ु,’ उनले भने ।
सुरुको चार दिनसम्म थर्पु शाखाले नैं मर्मतका लागि प्रयास गरेको तर समस्या समाधान हुन नसक्दा जिल्ला भरिका प्राविधिकहरू समेतले अहिले हेरिरहेको प्रमुख क्षेत्रीले बताए । हरेक दिन दिनभरि प्राविधिकहरू खटिएको भए पनि देखिने गरि नतिजा आउन नसकेको उनले बताए ।
फल्ट नदेखिंदा समस्या भएको र लाइन पुरानो भएकोले पनि चेक गर्दै जाँदा इन्सुलेसन कम भएको पाइएको र सामान फेर्दै चालू गरेको उनले जानकारी दिए । जामुने गुणादी साइडमा अहिले लाइन चलिसकेको र छाङ साइडतिर पनि अब चल्ने उनले बताए । सहभागीहरूले अनावश्यक रूपमा जरिवाना गराउने गरेको भन्दै प्रमुखसँग असन्तुष्टि जनाएका थिए ।