
ट्राफिकद्वारा चोरी भएको एक वर्षपछि धनीलाई मोटरसाईकल हस्तान्तरण
दमौलीः बुटवलका विवेक रेग्मीको मोटरसाईकल मिलनचोकबाट २०७६ साउन १७ गते हरायो । पार्किङ गरेर उनले राखेको मोटरसाईकल नभेटेपछि प्रहरीमा उजुरी दिए ।
यसबीचमा तनहुँ ट्राफिकले केही दिन अघि चेकजाँचका क्रममा लु ४३ प ७६९३ नम्बरको मोटरसाईकल नियन्त्रणमा लियो । ब्लुुबुक माग्दा चालकले घर गएर ल्याउने बताए । त्यसपछि चालक मोटरसाईकल लिनै आएनन् ।
उता, मोटरसाईकल हराएका विवेक खोजीमै थिए । त्यस्तैमा उनले हराएको भनेको मोटरसाईकलको ईञ्जिन र च्यासिस नम्बर तनहुँ ट्राफिकको नियन्त्रणमा रहेका मोटरसाईकलसँग मिल्यो । पछि कागजात मगाएर हेर्दा मोटरसाईकल बा ९१ प ५०३७ नम्बरको रहेको खुल्यो ।
धनी एउटा चलाउने अर्कै
यसरी एउटा मोटरसाईकल चोरेर नम्बर परिवर्तन गर्दै चलाइएको पुष्टि भए पछि तनहुँ ट्राफिकले धनी रेग्मीलाई बोलाएर मोटरसाईकल हस्तान्तरण ग¥यो । तनहुँका ट्राफिक प्रमुख रेशम रानाभाट भन्छन्,‘कागजात नभएका मोटरसाईकलमा कडाई गर्दाको परिणाम हो, यो ।’
शुरुमा चोरी भएकै भन्ने नलागे पनि कागजात माग्ने क्रममा राखिएको मोटरसाईकल पछि चोरी भएको खुलेको उनले बताए । ‘सामान लिएर आउँछु भनेर चालक गएकाले चलाउनेलाई नियन्त्रणमा लिन सकिएन,’ उनले भने,‘अब कागजात नभएका साधनमाथि बढी कडाइ गर्छौं ।’
हराएको एक वर्षपछि आशै मारेका रेग्मीले मोटरसाईकल पाए । उनी कम्ता खुशी थिएनन् । ‘आशै मारेको चिज लामो समयपछि भेटियो,’ उनले भने,‘ट्राफिकले चाहे भने धेरै यस्ता चोरीका घटनामा सफलता मिल्ने रहेछ ।’