तनहुँ जलविद्युत आयोजनाः ‘सेप्टेम्बरबाट बाँधको काम शुरु ‘ (भिडिओ)

  • ख-
  • ख+

दमौलीः एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको बाँधको काम आगामी सेप्टेम्बर महिनाबाट शुरु हुने भएको छ ।

सो कामका लागि जिम्मा पाएको भियतनाम र नेपाली संयुक्त उपक्रम कालिका सोम्दा जेभीले सेप्टेम्बर महिनाबाट काम थाल्ने आयोजनाको सञ्चालक संस्था तनहुँ जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए ।

‘सेप्टेम्बर एक बाट काम थाल्ने प्रतिवद्धता आएको छ,’ उनले भने,‘सम्झौताअनुसार पनि यस मितिमा काम थाल्नुपर्ने अवस्था भएकाले काम शुरु हुन्छ ।’कोभिडका कारण जारी निषेधाज्ञाका बीच पनि आयोजनाको विद्युतगृह र पहुँच मार्गका काम भैरहेका छन् ।

ठेकेदार छनौटमा ढिलाई हुँदा आयोजनाको बाँधक्षेत्रको काम शुरु हुन सकेको थिएन । बाँधमा पुग्ने पहुँचमार्गअन्र्तगत ट्रयाक खोल्ने काम भने भैसकेको छ । प्रवन्ध सञ्चालक थिकेले प्रशारण लाईनका लागि पनि आवश्यक तयारी पुरा भएकाले अब काम अघि बढ्ने जानकारी दिए ।


तनहुँका प्रदेश सभा सदस्यहरु डोवाटे विक, सरिता गुरुङ तथा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले आयोजनाबारे थिकेसँग जानकारी लिएका छन् । उनीहरुले आयोजनाको कामलाई गति दिनका लागि अनुरोध समेत गरेका छन् । ‘आयोजनाको कामलाई गति दिनका लागि निर्देशन दिइएको छ,’ जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङले भने,‘उहाँहरुले अब गति लिन्छ भन्नुभएको छ ।’


५० करोड ५० लाख अमेरिकी डलरमा बन्न लागेको आयोजनाका लागि एडीबी, जाईका, युरोपियन इन्भेष्टमेन्ट फण्डसँगै नेपाल सरकार र प्राधिकरण समेतको लगानी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी