हामीलाई बाघ किन चाहिन्छ ?

  • ख-
  • ख+

सन्तोष ढकाल

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षझैं यो वर्ष जुलाई २९ लाई बाघ दिवसका रुपमा मनाइएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो ।

सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।

यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।

खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।

संकटमा बाघ

आखिर बाघलाई यति धेरै महत्व किन दिइन्छ ? थाहा पाऔँ है त । कुनै समय जताततै पाइने बाघलाई अहिले लोपोन्मुख प्राणीको सूचिमा राख्ने गरिएको हामी सबैलाई थाहै होला । २० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १,००,००० रहेकोमा यो संख्यामा ९०% प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ ।

यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।

यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।

बाघको महत्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ ।

खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीय देखि विश्वभरका मानिसहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ भन्ने कुरा भनिरहन नपर्ला ।

विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षकशिक्षिकाले यी जीवहरुको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।

बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरुलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रुपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरु चिन्दछन् । यसलाई अंग्रेजीमा “अम्ब्रेला स्पेसिज” भनेर पनि भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनपर्छ ।

यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरुले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रुपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वनजंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।

बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरु गरिएका भएपनि बाघको संख्या दिनहुँ दिन कम हुँदै गइरहेको थियो । बाघ पाइने मुलुकहरु एकै ठाउँमा भेला भइ संयुक्त प्रयास गर्दा महत्वकाँक्षी लक्ष्य पनि पूरा गर्न सकिने हुँदा यी १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । सबै मुलुकले चाहँदा यो असम्भव पनि त भएन नि ।

सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सकेमा विश्वको लागि यो अनुकरणीय उदाहरण हुन जान्छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । केही सफलताको बाटो पछ्याउन सुरु गरिसकेकाले पनि हाम्रो भविष्य उज्जवल छ भने आशावादी हुने ठाउँहरु प्रशस्तै छन् ।

बाघ दिवस मनाइरहँदा यसले बाघको संरक्षणको मात्र होइन, वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको कल्याणको महसुस प्रदान गर्दछ । भावी पिढी मुस्कुराउने र धर्ती माताको र्दीघायुको बाटो खुल्ला गर्दछ ।
(लेखक रोट¥याक्ट क्लब अफ भानुका अध्यक्ष तथा विज्ञानका अध्यापक हुन् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी