
दमौलीः सरकारले प्रदेश प्रमुख परिवर्तन गर्न गरेको तयारीको केही घण्टा अघि मात्र बसेको माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठकले पूर्ववर्ती अमिक शेरचनलाई नै गण्डकी प्रदेश प्रमुखका रुपमा सिफारिस गरेको छ ।
तर संविधानले भने यस्तो नियुक्तिलाई रोक्ने कतिपय जानकार बताउँछन् ।
नेपालको संविधानको धारा १६३ ले एक पटक प्रदेश प्रमुख भएको व्यक्ति पुनः सोही प्रदेशमा प्रदेश प्रमुख हुन बन्देज लगाएको छ ।
तर संविधानको धारा १६३ (४) मा ‘एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन’ भनिए पनि सोही धाराको उपधारा ३ मा भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्ष हुने उल्लेख भएकाले उनलाई सोही आधारमा गण्डकी प्रदेश प्रमुख बनाउने चर्चा राजनीतिवृत्तमा छ ।
आफूलाई हटाएर सीता पौडेललाई नियुक्ति दिइनु अघि शेरचन गण्डकी प्रदेश प्रमुखको रुपमा कार्यरत थिए । मन्त्रीपरिषद बैठकले प्रदेश प्रमुख परिवर्तन गर्ने क्रममा गण्डकीमा शेरचनलाई दिने चर्चा चलेको छ ।
यद्यपि उनलाई अरु प्रदेशको जिम्मा दिएर गण्डकीमा फरक व्यक्ति ल्याउन सकिने विकल्प पनि कायमै छ ।