एनआरएनए स्पेन युवा संयोजकमा भानुका मनुषजंग विजयी

  • ख-
  • ख+

दमौलीः गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको २०२१ – २०२३ कार्यकालका लागि युवा संयोजक पदमा भानु–६, तनहुँका मनुषजंग खड्का विजयी भएका छन् ।

साउन ११ गते सम्पन्न अनलाइन मतदानमा अर्का उम्मेदवार दिपेन्द्र गजुरेललाई १९९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् । खड्काले कुल ९७३ मत पाएका थिए ।

निर्वाचन समितिका अनुसार २०१९ पंजीकृत सदस्य मध्ये १९०४ जनाले मतदानमा भाग लिएका थिए। मत परिणाम सार्वजनिक भए लगत्तै खड्काले समस्त स्पेनबासी नेपालीप्रति कृतज्ञता प्रकट गर्दै अर्का प्रत्यासी गजुरेलसंग समन्वय तथा सहकार्य गर्ने बताएका छन् । गजुरेलले फेसबुकमार्फत खड्कालाई बधाई दिदै स्पेनबासी युवाहरुको हितमा काम गर्न आफ्नो साथ रहने बताएका छन् ।

युवा संयोजक पदमा मनुषजंग खड्कासंगै अध्यक्षमा शालिकराम डुम्रे, अन्तरास्ट्रिय समन्वय समिति सदस्यमा दिनेश कुमार गिरी र प्रकाश तिमिल्सिना, उपाध्यक्षमा सनु राउत, कृष्णराम रानाभाट, रोशन पाठक, र सृजना लामिछाने, महासचिबमा विदुर गौतम र कोषाध्यक्षमा शन्त बहादुर क्षेत्री निर्वाचित भएका छन्। त्यस्तै सचिबमा नारायण भट्टराई, अरूण घिमिरे र सुन्दरी लामा निर्वाचित भएका छन् ।


भानुको चुँदीबाट एनआरएनए स्पेनसम्मको मनुषजंगको यात्रा
तनहुँ चुँदीको बुद्ध प्राविबाट प्राथमिक, आदर्श सरस्वति माविबाट निम्न माध्यमिक र चन्द्रावती माविबाट माध्यमिक तह अध्ययन सकाएका खड्का विधार्थीकाल देखि नै सामाजिक संघ संस्थाहरुमा सक्रिय रुपमा आबद्ध थिए। रेन्बो इन्टरनेसनल कलेजमा +२ र पब्लिक युथ क्याम्पसमा स्नातक अध्ययन ताका खड्का नेपाली कला संगीत क्षेत्रमा इभेन्ट म्यानेजमेन्टको काममा सक्रिय थिए ।


रोजगारीको शिलशिलामा २०१७ मा युरोप छिरेका खड्का ३ वर्ष यता स्पेनको बार्सिलोनामा बस्दै आएका छन् । प्रवासी जीवनको सुरुवाती संघर्षका क्रममा ब्याग म्यानुफ्याक्चारिंग, ग्रोसरी स्टोर, र रेस्टुरेन्टमा काम गर्दा प्रवासमा नेपाली युवाहरुको दुखलाई स्वयम् अनुभव गर्ने तथा नजिकबाट नियाल्ने मौका पाएको नवनिर्वाचित युवा संयोजक खड्का बताउँछन् ।


कोरोना महामारी अघि स्पेनमा आफ्नो अग्रसरतामा नेपाली चलचित्र प्रदर्शन गराउँदा स्वदेशी चलचित्र हेर्न पाउदा नेपालीहरुको मुहारमा देखेको मुस्कानले प्रवासमा रहेको नेपाली समाजमा हाम्रो भाषा, साहित्य, र कलाको प्रबर्धनका लागि काम गर्ने उर्जा पाएको उनी बताउँछन् ।
उनले नेपाली कला, संस्कृति, र खेलकुदका कार्यक्रमले प्रवासमा युवाहरुको शारीरिक र मानसिक दुखलाई कम बनाउनेमा आफु विश्वस्त रहेको बताए ।

त्यससँगै स्पेनमा रहेका अग्रजहरु, एनआरएनए अभियन्ताहरु र विभिन्न कालखण्डमा नेपाल सरकारको प्रतिनिधि भएर स्पेनमा खटिएका अधिकारीहरु संगको निरन्तर संवाद र सल्लाहले आफुलाई थप जिम्मेवार भएर काम गर्न अभिप्रेरित गरेको खड्का बताउँछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी