आफू पढेको विद्यालयमा मन्दिर बनाउन रजनजंगबाट १ लाख सहयोग

  • ख-
  • ख+

दमौलीः आफू पढेको विद्यालयमा सरस्वती मन्दिर बनाउन व्यास २ घर भै हाल बेलायतवासी रजनजंग शाहीले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।


व्यास नगरपालिकाका गैरआवासीय युवा सल्लाहकार समेत रहेका शाहीले पिता स्वर्गीय चन्द्रबहादुर र माता छविन्द्रकुमारी शाहीको स्मृतिमा लमजुङ मध्य नेपाल २ तान्द्राङ टक्सारस्थित चन्द्रज्योति प्राथमिक विद्यालयमा मन्दिर बनाउन सहयोग गरेका हुन् ।
उनले स्थानीय देवबहादुर शाहीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरे ।

मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर मल्ललाई रकम हस्तान्तरण गर्नेछन् । ‘मैले कखरा चिनेको स्कूल त्यही हो,’ शाहीले दमौली न्युजसँग भने,‘त्यसलाई विद्याको मन्दिर बनाउनुपर्छ भनेर सानो सहयोग गरेको हुँ ।’


उनले श्रमिक र अरु सामानका लागि नगद एक लाख दिए पनि बाँकी निर्माण सामग्री पनि पत्नी शान्ति खाँड शाही र बेलायतको युनिभर्सिटी अफ पोर्ट्समाउथमा मेडिकल साइन्स अध्ययनरत छोरी साराका समेत तर्फबाट आफैं खर्च गर्ने भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरले अहिले बेलायतमा बसे पनि आफ्नो ठाउँलाई सम्झेर सहयोग गरेको भन्दै शाहीप्रति आभार प्रकट गरे ।


बेलायतमा रेष्टुराँ व्यवसायमा संलग्न शाहीले दमौली तथा आसपास सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्