सामाजिक सञ्जालमा भाईरल दमौली न्युजको तस्बिरपछाडिको कथा

  • ख-
  • ख+

दमौलीः रुपक हिराचन साथीसँग बाह्रबिसेस्थित साँगे खोलामा नुहाउन तथा पौडी खेल्न गएका थिए । बिदा मनाउने हिसाबले शनिबार सानो समूहमा गएका उनी खाजा खाँदा गर्मी भएर पौडी खेलिरहेका थिए ।

यस्तैमा खोलामा कोही बगिरहेको र कराएको उनले सुने । ‘बच्चा खोलामा बग्दै गरेको देखें । पानी पनि खाइरहेको थियो,’ उनले दमौली न्युजसँग भने,‘अब उसलाई जोगाउनुपर्छ भनेर हामफालें ।’

रुपक हिराचन

खोला सानै भए पनि बालबालिकाका लागि डुबाउने खालको थियो । त्यसमाथि वर्षामा बढी पानीको बहावका कारण साँगे खोला बढेको थियो । बगेको केही मिनेटमै रुपकले उद्धार नगरेका भए ती करिब आठ वर्षका बालकको अवस्था यस्तै हुन्थ्यो भन्न सकिन्थेन ।

अनि तस्बिर भाईरल बन्यो

यस्तैमा उनले उद्धार गरिरहँदा खोला किनार छेउमा बसिरहेका बिरेन्द्र घर्तीले तस्बिर लिन भ्याए । र, दमौली न्युजमा प्रकाशित सो तस्बिर अहिले भाईरल भैरहेको छ । तस्बिर सम्पादन गरिरहेका मोहनराज आलेले आफूले घटना सुनेपछि घर्तीसँग मगाएर तस्बिर राखेको बताए ।

तस्बिर राख्नासाथ रुपकलाई धन्यवाद दिनेको ठूलो संख्या सामाजिक सञ्जालमा भेटिएको छ । ती बालकका परिवारले आफ्नो छोराको ज्यान बचाएकामा रुपकलाई धन्यवाद दिए । तस्बिर हेर्ने जोकोहीले उनको साहस र समयमै देखाएको तदारुकताका कारण एक अबोधको ज्यान बचेको भन्दै सराहना गरिरहेका छन् ।


समयमै उद्धार नभएको भए ……………………………:प्रत्यक्षदर्शी (तस्बिर लिएका) विरेन्द्र घर्ती

रुपक गर्मी भएर पौडी खेलिरहेको थियो । नजिकै ड्याममा चिप्लेटी खेल्न मिल्ने रहेछ । यस्तैमा चिप्लेर एक बालकलाई बगाएछ । हामी त छेउमा खाजा खाइरहेकाले जान पाएनौं । तर रुपक पौडी खेलिरहेको थियो ।

उसले तत्काल उद्धार गर्न भ्यायो । त्यो ठाउँ हामीलाई पनि डुबाउने खालको थियो । यदि रुपक नगएको भए के हुन्थ्यो भन्न सकिन्थेन ।

आकर्षक लागेर मैले तत्काल तस्बिर खिचें । हामीले उनीहरुलाई त्यसपछि खाजा खुवाएर पठायौं । समयमै चालिएको सावधानीपूर्ण कदमले बालकको ज्यान बचाउन सकिएको देख्दा खुशी लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी