श्रृजनशील युवा मञ्चद्वारा पहिरो पीडितलाई राहतः ऋषिङको पीडामा देश विदेशको मल्हम

  • ख-
  • ख+

ऋषिङःश्रृजनशील युवा मंचले बाढी पहिरो प्रभावित तनहुँको ऋषिङका ४० घर परिवारलाई राहत सामग्री वितरण गरेको छ । ऋषिङका बेग्लाबेग्लै तीन स्थानबाट प्रभावितलाई राहत सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष पवन पौडेलले जानकारी दिए ।


ऋषिङ, कोटदरबार तथा सपाङदीबाट राहत वितरण गरिएको मञ्चले जनाएको छ । कोटरदरबारमा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा तथा वडाध्यक्ष जंगवीर आलेले राहत वितरण गरेका थिए । यसैगरी, ऋषिङमा कार्यपालिका सदस्य यमुना श्रेष्ठ, मञ्चका अध्यक्ष पौडेल तथा दमौली न्युज डट कमका विशेष सम्वाददाता दानबहादुर श्रेष्ठले राहत वितरण गरेका थिए ।

पोर्चुगलमा रहेका दमौलीवासी युवाका तर्फबाट २० बोरा चामल तथा प्रभावित अपांगता भएका परिवारका लागि राष्ट्रिय एकिकृत विकास संघ निडामार्फत प्राप्त २० बोरा चामल तथा तेल र चौधरी फाउण्डेसनमार्फत प्रधान सप्लायर्सले प्रधान गरेको चाउचाउ वितरण गरिएको हो ।

दमौली युथ ईन पोर्चुगलका सदस्य रमेश पुरीको सक्रियतामा पोर्चुगलबाट सहयोग जुटाइएको हो । उनले आफ्नो ठाउँ नजिकै ऋषिङमा बाढि पहिरोले ठूलो क्षति गरेको थाहा पाए पछि सघाउन सदस्यहरुबाट आर्थिक संकलन गरिएको बताए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले प्रकृतिले दिएको पीडामा मलम लगाउने काम गरिरहेको गाउँपालिकालाई सुभेच्छुकबाट प्राप्त साथ र सहयोगले हौसला मिलेको बताए । ‘हामी प्रभावितलाई आवश्यकताअन्ुसार स्थानान्तरण र अरु सहयोगका लागि तयार छौं,’ उनले भने । उनले ऋषिङलाई सम्झेर टाढा टाढाबाट सघाउने संस्था र पहल गर्ने मञ्चप्रति विशेष आभार प्रकट गरे ।


गाउँपालिका उपाध्यक्ष गिनुमाया थापाले यातायातको कठिनाईका बाबजुद गाउँमै राहत ल्याइपु¥याएको भन्दै आभार प्रकट गरिन् । वडाध्यक्ष जंगवीर आलेले धेरै परिवार प्रभावित भएकाले सबैलाई राहत दिन नसकिएको अवस्थामा मञ्चको पहलले मद्दत मिलेको बताए ।


मञ्चका अध्यक्ष पौडेलले राहत तात्कालिक भएको भन्दै कृषिबालीमा क्षति पुगेका परिवारलाई वैकल्पिक व्यवस्था नगरिए आगामी वर्ष खाद्यसंकटको अवस्था आउन सक्ने भन्दै क्षति भएको ठाउँमा पुनः खेती हुने वातावरण तयार पारिदिन आग्रह गरे । उनले ऋषिङ एक्लो नभएको भन्दै देश र विदेशबाट प्राप्त ऐक्यवद्धताका लागि आभार प्रकट गरे ।


दमौली न्युज डट कमका संवाददाता दानबहादुर श्रेष्ठले वास्तविक प्रभावितका्े सूची तयार पार्दा अझ थप प्रभावित छुटेको भन्दै अरु सहयोगको अपेक्षा गरिएको बताए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी