
दुलेगौंडाः समुदायस्तरमा संक्रमण देखिएको भन्दै शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ ले वडा क्षेत्रमा बन्दाबन्दी घोषणा गरेको छ ।
वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै संक्रमण फैलन जोखिम बढेको भन्दै मंगलबारबाट एक सातासम्म अत्यावश्यकबाहेकका पसल नखोल्न निर्देशन जारी गरेको छ ।
वडाध्यक्ष दीर्घबहादुर थापाद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कन र त्यसका लागि वडाध्यक्षसँग समन्वय गर्न भनिएको छ ।
शुक्लागण्डकीमा मंगगलबार सात जनामा संक्रमण देखिएको थियो । वडाको ज्ञानज्योति टोलमा मात्र तीन जनामा संक्रमण भेटिएको थियो ।

शुक्लागण्डकी ११ मा पनि बन्दाबन्दी
शुक्लागण्डकी नगरपालिका ११ मा पनि बन्दाबन्दी घोषणा गरिएको छ । वडाका होम क्वारेन्टिनमा बसेका एक व्यक्तिमा संक्रमण पुष्टि भएकाले वडा क्षेत्रमा असोज ७ गतेसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको हो ।
वडाध्यक्ष दलबहादुर थापाद्वारा जारी विज्ञप्तिमा संक्रमित व्यक्ति अरु धेरैको सम्पर्कमा आएको बुझिएको भन्दै निर्धारित अवधिभर अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ ।