गण्डकी सरकार: ‘भैसकेर’ पनि ‘नभएका’ मन्त्री डोवाटे (फिचर)

  • ख-
  • ख+

दमौलीः २०३६ सालदेखि निरन्तर कांग्रेसी राजनीतिमा सक्रिय डोवाटे विश्वकर्मा समानुपातिकबाट प्रदेश सभासद बने । जब पृथ्वीसुब्बा गुरुङ सरकार ढलेर कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बने तबदेखि नै उनी मन्त्री बन्ने चर्चा चलेको हो ।

दलित आन्दोलनबाट उदाएका र प्रदेश सभामा अब्बल प्रस्तुति अनि पार्टीका पुराना दलित नेता भएका कारण उनको सम्भावना अधिक रहेको चर्चा चलि नै रहन्थ्यो । दोश्रो पटक मन्त्रीपरिषद विस्तारका क्रममा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले एक मात्र नाम दिएकाले विक नै मन्त्री हुने चर्चा थियो ।

कतिपय अनलाईनले उनी मन्त्री भैसकेको समाचार दिएबाट पनि उनको नाम टुंगो लागिसकेको कुरामा शंका छैन । तर अन्तिम समयमा उनको नाम काटियो अनि बिन्दु थापा मन्त्री बने ।

दौरा शुरुवाल अनि पोखरा यात्रा

नाम करिब निश्चित भएकाले उनले दौरा शुरुवाल नै लिएर बिहीबार पोखरा गएका थिए । किनकी कतिपयले बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने आँकलन गरिरहेका थिए । ‘मुख्यमन्त्री कार्यालयबाट फोन आएको थियो,’उनले भने,‘अनि तयारी भएर गएको थिएँ ।’


तर बिहीबार हुने भने विस्तार शुक्रबार सरेसँगै ‘चलखेल’ भयो । अनि सपथ ग्रहणभन्दा केही मिनेट अघि मात्र थापाको नाउँ सार्वजनिक भयो । तर विकलाई त्यही दिन बिहानबाटै केही संकेतले आशंका बढाएको थियो ।

‘पार्टीमा एउटा अपराध भयो,’ उनले भने,‘यत्रो समय पार्टीमा मैले दिएको योगदान अनि टु्ंगिसकेको नाममा पनि चलखेल भयो ।’


यस अघि पार्टीका उच्च नेतासँग सम्वाद हुँदा नाम पक्का भैसक्यो भन्ने धेरै खबरले हौसिएर पोखरा गएका विक निराश भएर तनहुँ फर्केका छन् ।

को हुन् डोवाटे ?

डोवाटे विश्वकर्मा तनहुँको राजनीति र दलित आन्दोलनमा परिचित नाउँ हो ।

२०३६ सालमा गोवद्र्धन शर्मा पोखरेलबाट नेपाली कांग्रेस पार्टीको सदस्यता लिएका डोवाटे विश्वकर्मा त्यसयता कांग्रेसका हरेक आन्दोलन र आरोह अवरोहमा निरन्तर संलग्न रहे ।

व्यास ११ तनहुँसुर अर्चलचौरमाम जन्मिएका विक तनहुँमा कांग्रेसका दलित नेतामध्येका पुराना र अनुभवी अनि पार्टीको उच्च तहमा पुग्ने नेता हुन् ।

पार्टीका तर्फबाट समानुपातिक प्रदेश सांसद बन्नु अघि उनी पार्टीका विभिन्न जिम्मेवारीमा रहे ।
१२ र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका उनी पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अति निकट सम्बन्ध भएका व्यक्ति हुन् ।

उनलाई पौडेलले कान्छा भनेर सम्बोधन गर्छन् । प्रदेशमा मन्त्रीको नाम सिफारिसमा पौडेलले आफ्नो एक मात्र प्रतिनिधिका रुपमा विकको नाम सिफारिस गरेको चर्चा राजनीतिवृत्तमा थियो ।

राजनीतिक आन्दोलन

गोवर्धन शर्मा, श्रीभद्र शर्मा, सुर्यभक्त अधिकारी लगायतसँग आन्दोलनमा सक्रिय उनी २०४२ को जनमत सत्याग्रह, २०४६ साल जन आन्दोलन तथा २०६२÷२०६३ को आन्दोलनमा सहभागी भई समय समयमा गिरफ्तारीमा परे ।


२०४९ –२०५४ सालमा व्यास न.पा.को २ कार्यकाल वडा सदस्य बनेका उनी २०५४–२०५९ दलित विकास समितिको बोर्ड सदस्य, २०५४ देखि नै ३ कार्यकाल तनहुँ दलित संघको सभापति हुँदै राष्ट्रिय दलित आयोगको सदस्यसम्म बने ।

पार्टीमा शतिसाल
पार्टीका हरेक आन्दोलनमा उनी निरन्तर सक्रिय रहेकाले धेरैले उनलाई ईमान्दार मान्छन् । उनले दलित आन्दोलनका अलावा पार्टीका फोरमहरुमा पार्टीको सिद्धान्त र नीतिका पक्षमा वकालत गर्ने गरेका छन् ।

प्रदेश सभामा प्रतिपक्षी भूमिका
विकले गण्डकी प्रदेश सभाका बैठकहरुमा प्रतिपक्षी भूमिकामा रहँदा सरकारको आलोचना गर्ने काम गरे । प्रदेश सभा बैठकमा कडा अडान राखेर मिडियामा चर्चामा आउने सीमित कांग्रेस सभासदमा उनी पनि पर्छन् ।


लामो समय निरन्तर ईमान्दार कार्यकर्ताको छवि बनाएका विकलाई मन्त्री नबनाइनुले दलित आन्दोलनका अलावा निष्ठाको राजनीति गर्ने एउटा तप्काले अन्याय महसुस गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्