एनआरएनए स्पेन चुनावः नेपाली पुस्तकालय, नियमित खेलकुद र परामर्श कक्ष ल्याउने युवा संयोजक प्रत्यासी मनुशको घोषणा

  • ख-
  • ख+

मनुशजंग खड्का

विश्व २१ औं शताब्दीको मध्यतिर लम्कदै गर्दा मानिसको आफ्नो भाषा, संस्कृति, इतिहास, र पहिचानको मुद्दा निकै नै पेचिलो बन्दै गएको छ। अवसर पछ्याउदै विश्वका विभिन्न कुनामा पुगेका हामी नेपालीको पनि जहा छौ, त्यस देशको जस्तै हाम्रो आफ्नो भाषा, संस्कृति, पहिचान, र गर्विलो इतिहास छ । त्यसको जगेर्ना गर्ने जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आइपुगेको छ।

नेपाली भाषा, संस्कृति, इतिहास, र पहिचानको संरक्षण र प्रबर्धनका हेतु स्थापित गैर आवासीय नेपाली महासंघ (एनआरएनए) आफ्नो उद्देश्य प्रति प्रतिबद्ध छ। हरेक २÷२ वर्षमा नेतृत्वमा आउने अभियन्ताहरुले स्थानीय तहमा आयोजना गर्ने ससाना क्रियाकलाप देखि राष्ट्रिय÷अन्तरास्ट्रिय स्तरका कार्यक्रमहरुले मुलभूत रुपमा एनआरएनएको उद्देश्य परिपूर्तिमा मलजल गरिरहेकै छ। यस्तैमा एनआरएनए आइसीसी र एनसीसीहरु यतिखेर नया नेतृत्व चयनमा होमिएको छ।

करिब आधा विश्वभर आफ्नो संजाल फैलाउन सफल हाम्रो गरिमामय एनआरएनएको उद्देश्य प्राप्तिका लागि यसको विधानलाई शिरोपर गर्दै हामीले अबको कार्यकालमा केहि नया कार्यक्रमहरु सुचारु गर्न पक्कै सक्छौ। प्रवासमा बढिरहेको नेपाली समाजमा नेपाली भाषा र साहित्यको संरक्षण र प्रबर्धनका लागि प्रवासमा नेपाली पुस्तकालय संचालन हुनु अत्यन्तै जरुरि छ। आगामी कार्यकालमा एनआरएनए राष्ट्रिय समन्वय समिति (एनसीसी) स्पेनले यस्तै एउटा पुस्तकालय संचालनका लागि पहल कदमी लिनु पर्दछ भन्ने मलाई लाग्दछ । एनआरएनए एनसीसी स्पेनको चुनाबी प्रचारमा नेपाली पुस्तकालयको कुरा उठेपछि केहि सहयोगी दाताहरु नेपाली पुस्तकहरु उपलब्ध गराउने वाचाका साथ सम्पर्कमा आउनु भएको छ। अब बन्ने नया कार्यसमितिले यो योजना पारित गरेमा नेपालमा रहेका विभिन्न पब्लिसर्ससंग पनि सहकार्य गर्न सहज हुने विश्वास गरेको छु। पुस्तकालय संचालनले फुर्सदमा हुदा नेपालीहरु भेटघाट हुने थलो मात्रै होइन, एउटा परिष्कृत प्रवासी समाजको विकासमा योगदान गर्नेछ।

जागरुक र जिम्मेवार युवा पुस्ताका लागि पुस्तकसंगै खेलकुद पनि अभिन्न अंग हो। स्पेनमा रहेका विभिन्न संघसंस्थाबीच तथा आवतजावत सहज भएका स्पेनका छिमेकी राष्ट्रका एनसीसी बीच मैत्रीपूर्ण खेलकुदका कार्यक्रमहरुको निरन्तरता दिन सकियो भने विभिन्न संघसंस्थाबीच आपसी सद्भाव कायम गर्न सकिन्छ। नेपालीहरुले संचालन गरेका व्यापार व्यवसायको प्रचारप्रसार गर्न सकिन्छ। प्रवासमा रहेका विभिन्न संघसंस्था र नेपालीहरुले संचालन गरेका व्यापार व्यवसायबीच हातेमालो गर्न सक्यौ भने मात्र प्रवासमा पनि एक समुन्नत नेपाली समाज निर्माण गर्न सकिन्छ। यसरि एकले अर्कोलाई सहयोग गरेर मात्रै हामी ‘नेपालीका लागि नेपाली’को नारालाई चरितार्थ गर्न सक्छौ। त्यस्तै प्रवासमा हुर्किरहेको दोस्रो पुस्ताका नेपालीलाई मध्यनजर गर्दै हाजिरीजवाफ प्रतियोगिता गर्न सकियो भने उनिहरुलाई नेपाली भाषा, संस्कृति, इतिहास, भूगोल, प्रकृतिक सम्पदा लगायतको बारेमा जानकारी संकलन गर्ने मौका मिल्नेछ। यस्ता कार्यक्रमले ‘एक पटकको नेपाली, सधै नेपाली’ भने झैँ दोस्रो पुस्तामाझ पनि नेपालको महत्व प्रकाश पार्ने मौका मिल्नेछ।

पछिल्लो समय स्पेनमा आउने नेपालीको संख्या बढ्दो छ। परिवर्तन भैरहने यहाको नियम, कानुन, कामको अवसर, भाषाको बारेमा राम्रो ज्ञान नहुदा धेरैले दुख पनि पाउने गरेका छन्। एनआरएनए एनसीसी स्पेनको संयोजकत्व तथा यहाँ संचालनमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा हरेक महिना एउटा परामर्श कक्षको व्यवस्था गर्न सकियो भने नव आगुन्तुक नेपालीलाई पक्कै सजिलो हुन्थ्यो। यसले उनीहरुमा पार्ने मानसिक तनाव न्यूनीकरण त गर्छ नै, साथै यहा लामो समयदेखि बस्दै आएका नेपालीहरुबीच समन्वय गर्ने मौका पनि मिल्नेछ। त्यस्तै नवआगन्तक नेपालीहरुमा एनआरएनए प्रति माया, विश्वास, लगाव र अपनत्व बढ्नेछ।

कोरोना महामारी अघि स्पेनमा नेपाली चलचित्र प्रदर्शन गराउदै गर्दा, आफ्नो देशको चलचित्र हेर्न पाउदा नेपालीहरुको मुहारमा देखेको मुस्कानले प्रवासमा रहेको नेपाली समाजमा हाम्रो भाषा, साहित्य, र कलाको प्रबर्धनका लागि काम गर्ने अमर उर्जा प्राप्त भयो। त्यससगै स्पेनमा रहनु भएका अग्रजहरु, एनआरएनए अभियन्ताहरु र विभिन्न कालखण्डमा नेपाल सरकारको प्रतिनिधि भएर स्पेनमा खटिनु भएका अधिकारीहरु संगको निरन्तर संवाद र सल्लाह बमोजिम एनआरएनए एनसीसी स्पेनको आगामी कार्यकालको युवा संयोजकमा उम्मेदवारी दिएको छु। स्वतन्त्रता वा संलग्नताको नाममा आफ्नालाई समेट्ने, पराइलाई घचेट्ने भन्दा आगामी कार्यसमितिमा सबै सामाजिक संघसंस्थाबीच सामन्जस्यता कायम गर्न सक्नेहरुको जित आवश्यक छ। हामी त्यस्तो कार्यसमितिको परिकल्पना गरौ, जसले सामाजिक विविधतालाई घोचेर छिया छिया बनाउने होइन, बरु त्यसलाई जोडेर सिलाउने सियो बन्नेछ। म तपाईहरुको अभिमत र मतको पर्खाईमा छु ।

(तनहुँ भानु चुँदीका लेखक एनआरएनए एनसीसी स्पेन (२०२१ – २०१३) का लागि युवा संयोजकका उम्मेदवार हुन्।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी