के गर्लान् किसान ? ओलीमै निरन्तर कि नेपाललाई साथ ?

  • ख-
  • ख+

पवन पौडेल
दमौलीः
कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिएका एमालेको माधवकुमार नेपाल नेतृत्वको समूहमा सांसद संख्या बढिरहेको चर्चा राजनीतिवृत्तमा छ । सो गुटका नेताहरुको भनाईलाई आधार मान्ने हो भने पूर्व वनमन्त्री प्रेमआलेसहित यस्ता सांसदको संख्या ४० पुगेको छ ।


२३ जनाबाट माधव नेपालको गुटमा संख्या बढ्नु भनेको ओलीनिकटले छाड्नु हो । यस्तोमा तत्कालीन प्रधानमन्त्री ओलीनिकट हार्डलाईनर नेताको पहिचान बनाएका तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानको राजनैतिक भविष्यबारे एमालेवृत्तमा चर्चा चल्न थालेको छ ।

तर श्रेष्ठले भने आफूनिकटसँग आफूले तत्काल गुट परिवर्तन नगर्ने बताउने गरेका छन् ।

पछिल्ला दिनमा ओली समूहको साथ छाडेर नेपाल समूह प्रवेश गर्नेमा श्रेष्ठको नाम पनि आएको छ । ऋषि धमलाले सञ्चालन गर्ने चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छ’मा समेत यो विषय उठेको थियो । यसले कतै श्रेष्ठले लाईन परिवर्तन गर्ने त होइनन् भन्ने प्रश्न उब्जिएको छ ।


तर श्रेष्ठले भने आफूनिकटसँग आफूले तत्काल गुट परिवर्तन नगर्ने बताउने गरेका छन् । ‘हामीसँग त गुट परिवर्तन गर्दिन भन्नुभएको छ,’ उनीनिकट एक कार्यकर्ताले दमौली न्युजसँग भने ।


नेपाल गुटमा श्रेष्ठको नाम
माधवकुमार नेपालसमेत सहभागी एक बैठकमा सांसदहरुले श्रेष्ठले आफूहरुलाई साथ दिने चर्चा चलाएका थिए । बैठककी प्रत्यक्ष सहभागी माधव नेपाल निकट तनहुँकै अर्की प्रतिनिधि सभा सदस्य कलिला खानले श्रेष्ठको नाम आफ्नो समूहमा आउनसक्ने सम्भावितमा चर्चा चलेको बताइन् । ‘बैठकमा उहाँको नाम आएको थियो,’ उनले भनिन्,‘तर मेरो उहाँसँग सम्वाद भएको छैन । म सम्पर्क गर्छु ।’

‘बैठकमा उहाँको नाम आएको थियो,’ उनले भनिन्,‘तर मेरो उहाँसँग सम्वाद भएको छैन । म सम्पर्क गर्छु ।’


समूह छाड्लान् भन्ने आधार
प्रतिनिधि सभा सदस्य हुनु अघि पार्टी नेता वामदेव गौतमसँग बढी निकटता भएका श्रेष्ठले टिकट पाएर चुनाव जितेपछि भने प्रधानमन्त्री ओलीका पक्षमा खुलेर वकालत गर्ने गरेका थिए । जिल्लामा समेत ओली गुट निर्माणमा उनी खुलेर लागे ।

श्रेष्ठले अस्विकार गरे पनि संदिग्ध सांसद अपहरणमा समेत उनको नाम मुछियो । तर पनि उनले ओली गुटबाट भनेजस्तो साथ नपाएको निकट बताउँछन् ।

१) मन्त्री नपाउनु
प्रधानमन्त्री ओलीका पक्षमा खुलेर लागेका उनी मन्त्री बन्ने विषय पटक पटक चलिरह्यो । जतिसुकै पटक मन्त्रिपरिषद विस्तार वा हेरफेरको समाचार आए पनि श्रेष्ठको नाम चर्चामा रहन्थ्यो । तर ओली सरकारबाट बाहिरिंदासम्म पनि उनी मन्त्री बन्न सकेनन् ।

२) महेश बस्नेत हावी हुन नसक्नु
पछिल्लो समय युवा संघका अध्यक्ष महेश बस्नेत र श्रेष्ठको निकटता अधिक थियो । बस्नेत गृहमन्त्री बन्ने चर्चा चले पनि उनकै गुटका विष्णु रिमालहरुले बस्नेतलाई मन्त्री हुनबाट रोके ।

बस्नेत नभए उनको प्रतिनिधित्व गर्दै श्रेष्ठसमेत मन्त्री हुने आँकलन पनि मिलेन । पछिल्लो समय बस्नेतको पकड ओली समूहको निर्णयमा नहुँदा त्यसको सोझो असर श्रेष्ठमा परेकाले पनि उनले गुट फेर्छन् भन्नेहरुले त्यसलाई आधार ठान्छन् ।

३) गौतमसँगको पुरानो सम्बन्ध
पार्टी नेता वामदेव गौतम पछिल्लो समय माधव नेपाल गुटसँग निकट छन् । यदि उनी खुलेर गुटमा लागेमा वामदेवसँग लामो समय निकट रहेर काम गरेका श्रेष्ठ पनि नेपाल गुटसँग मिल्ने सम्भावना रहेको जानकार बताउँछन् । उनले गुट बदल्ने वा कायम रहने विषयले नै श्रेष्ठको भावी राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

‘म पार्टीको निर्णयका पक्षमा प्रतिवद्ध छु’
टिप्पणी प्रकाशित भए पछि भने सांसद श्रेष्ठले दमौली न्युजसँग सम्पर्क गरेका छन् । उनले आफू गुट परिवर्तन गर्ने पक्षमा नभएको जिकिर गरे । ‘म अध्यक्षका पक्षमा त्यसरी लागेको मान्छे । मैले गुट परिवर्तन गर्ने प्रश्न आउँदैन,’ उनले भने,‘देउवालाई विश्वासको मत नदिने पार्टी निर्णयमा म प्रतिवद्ध छु ।’


‘कहाँ के चर्चा चलेको छ म भन्न सक्दिन,’ उनले भने,‘म तनहुँमा भावी चुनाव लड्दैछु ।यस्तोमा अध्यक्षको साथ छाड्ने कुरा हुन्न ।’ सांसद श्रेष्ठले पार्टी एक हुने अवस्थाबाहेक अरु गुटमा नलाग्ने दाबी गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी