दमौलीमा गुरुङका जन्मदेखि मृत्युसम्मका संस्कारको झल्को

  • ख-
  • ख+

दमौली : व्यास ३ स्थित मादी पुलको छेवैमा छ, तमुसार क्होंइबो । अनि त्यसैभित्र निर्माण भएको छ गुरुङ संग्रहालय भवन । भवन बने पनि संग्रहयोग्य वस्तु नभएकाले नाम मात्रको संग्रहालयले अब ज्यान पाएको छ ।

गुरुङ संस्कृतिका जन्मेदेखि मृत्युसम्मका संस्कार झल्कने चित्रकला संग्रहालयमा राखिएपछि अब यो साँच्चिकै संग्रहालय बनेको छ । संग्रहालयमा गुरुङ संस्कार झल्काउने १५ फरक चित्रकला राखिएको छ ।

यी चित्रकला जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता एवं कलाकार गल गुरुङ र भीमराज गुरुङले एक महिनाको ‘लक डाउन’ अवधिमा तयार पारेका हुन् । व्यास नगरपालिकाको अर्थिक सहयोगमा तयार चित्रकला नगर प्रमुख बैकुण्ठ न्यौपानेले संग्रहालयलाई हस्तान्तरण गरे ।

व्यास नगरपालिकाका तर्फबाट चित्रकला संग्रहालयलाई हस्तान्तरण गरिंदै ।

‘हामीले संस्कृति जोगाउन सकेको सघाएका छौं,’ उनले भने,‘कोरोनाको संकटमा बजेट कटौतीका बाबजुद पनि गुरुङ संस्कृति जोगाउन सकेको प्रयास भएको छ ।’

संग्रहालयको सञ्चालक संस्था तमु समाज सुधार समितिका अध्यक्ष मानबहादुर गुरुङले संस्कृति संरक्षणका लागि सघाएको भन्दै नगरपालिकाप्रति आभार प्रकट गरे । ‘हामीले यसमा संस्कृति झल्कने अरु कुरा पनि थप्ने उद्देश्य राखेका छौं,’ उनले भने,‘भोलीका पुस्ताले पनि संस्कृति चिन्न सकुन् ।’

व्यास ३ को तमुसार संग्रहालय

‘संग्रहालय दमौलीको गहना’
संग्रहालय स्थापना र चित्रकला निर्माणको कार्यमा सक्रिय गुरुङ अगुवा एवं गैरसरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिं गुरुङ संस्कृति चिनाउनका लागि चित्रकलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्छन् । ‘यसले साँच्चिकै महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने,‘संस्कृतिका अरु वस्तु पनि थप्न सकिए यो दमौलीको गहना बन्छ ।’

संग्रहालयमा राखिएको एक चित्रकला

लक डाउनको उपज
तयार पारिएका १५ वटा चित्रकलामा गुरुङ जातिका जन्म मृत्यु संस्कारका अलावा अन्य सांस्कृतिक पर्व पनि समावेश छ । कलाकार गल गुरुङ संस्कृतिलाई चिनाउन चित्रकलाले भूमिका खेल्न सक्छ भनेर तयार पारिएको बताउँछन् ।

कलाकार गल गुरुङ

‘लक डाउनको अवधिमा एक महिना बढी समय लगाएर हामी दुई(भीमराजसमेत)ले तयार पारेका हौं,’ उनले भने,‘अझै १५ वटा बनाउन बाँकी छ ।’
संस्कृति थाहा नपाएकाहरुका लागि यी चित्रकला निकै महत्वपूर्ण हुने विश्वस समुदायका अगुवाहरुको छ ।

कलाकार भीमराज गुरुङ

समितिले चित्रकलासँगै गुरुङ संस्कृतिसँग सम्बन्धित सामग्रीसमेत थप गरेर संग्रहालय सञ्चालनमा ल्याउने तयारी गरेको छ । संग्रहालयका लागि व्यास नगरपालिकाबाट १० लाख प्राप्त भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी