
दमौली: व्यास नगरपालिकाले दमौलीको फोहोर उठाउन थालेको छ । बाढीका कारण साविकमा फोहोर फाल्दै आइरहेको व्यास ३ भतेरीको ठाउँ मादीले बगाएपछि एक साता नगरपालिकामा फोहोर उठ्न सकेको थिएन ।
विकल्पको खोजी गरिरहेको नगरपालिकाले तत्कालका लागि मादी पुलमुनिको जमिनमा फोहोर व्यवस्थापनको तारतम्य मिलाएपछि सोमबारबाट नियमित फोहोर उठ्न थालेको हो ।
नगरपालिकाका सरसफाई शाखा प्रमुख भाग्यशाली ढुंगानाले आईतबार साँझ दुई ट्याक्टर फोहोर उठेको र सोमबारबाट नियमित रुपमा उठाउन थालिएको जानकारी दिए । ‘आईतबार साँझ दुई ट्याक्टर उठाइयो,’ उनले भने,‘अब नियमित फोहोर उठाउन थालेका छौं ।’
नगरपालिकाले फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि थालिएको प्रयास यसबीचमा निकै सघन भैरहेको जनाएको छ । ‘केही दिनयता फोहोर व्यवस्थापनका लागि नियमित छलफल र अन्र्तक्रिया भैरहेको छ,’ ढुंगानाले भने,‘सकेसम्म फोहोर उत्पादन घटाउन लागिरहेका छौं ।’